काठमाडौं– नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ। राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो।
्निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकमा पैसा राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्नुपर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ।
घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ। यसको साँवा तथा ब्याज भुक्तानी भने २८ वैशाखमा हुनेछ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्। यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ।