एनएसएलको अन्तिम लिग खेलमा आज धनगढी एफसी र एफसी चितवन भिड्ने - Chaitanya News
  • 2025-05-15
  • 16:12:43
  • बिहिबार,जेठ ०२, २०८२
  • एनएसएलको अन्तिम लिग खेलमा आज धनगढी एफसी र एफसी चितवन भिड्ने

    एनएसएलको अन्तिम लिग खेलमा आज धनगढी एफसी र एफसी चितवन भिड्ने

    काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत लिग चरणको अन्तिम खेल आज धनगढी एफसी र एफसी चितवन भिड्ने भएको छ।

    यसअघि तीन टिम प्लेअफमा पुगिसकेकोले यो खेलपछि प्लेअफ पुग्ने चौथो टोलीको टुङ्गो लाग्ने भएकोले प्रतिक्षित बनेको छ।

    मैदानमा उत्रने एफसी चितवन आफू अनुकुल नतिजा ल्याउँदै प्लेअफ पुग्ने लक्ष्यमा छ भने मैदान बाहिर रहने काठमाडौं रेजर्सको नजर पनि यस खेलमा हुनेछ।

    यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको धनगढी ५ खेलबाट ११ अंकसहित दोस्रो स्थानमा छ। ६ खेल नै खेलिसकेको काठमाडौं रेजर्स अहिले ८ अंकसहित चौथो स्थानमा छ। चितवन ५ खेलबाट ७ अंकसहित पाँचौ स्थानमा छ।

    प्लेअफ पुग्न चितवनका लागि जित वा बराबरी चाहिनेछ। जितले चितवन लिगमा तेस्रो हुँदै प्लेअफ पुग्नेछ। बराबरीले चितवनले काठमाडौंसँग अंक बराबरी गर्नेछ। तर गोल अन्तरमा चितवन अघि रहने भएकोले चितवनको प्लेअफ यात्रा तय हुनेछ।

    काठमाडौं रेजर्स प्लेअफ पुग्नका लागि चितवन धनगढीसँग पराजित हुनुपर्नेछ।

    यस पटक दुई टिमको अंक बराबरी भएमा गोल अन्तर हेर्ने प्रावधान छ। त्यसैले ६ खेलबाट ८ अंक रहेको पोखरा थण्डर्सले काठमाडौंलाई गोल अन्तरमा पछि पारेर प्लेअफमा स्थान बनाइसकेको छ।

    पोखराको गोल अन्तर प्लस १ छ भने काठमाडौंको माइनस १ छ। चितवनको गोल अन्तर हाल शुन्य रहेकोले बराबरी खेले पनि काठमाडौं भन्दा अघि रहने भएको हो।

    आज चितवन आफू अनुकल नतिजा ल्याउँदै प्लेअफ पुग्ने लक्ष्यमा हुँदा काठमाडौं भने मैदान बाहिरकाट चितवनको हारको कामना गरिरहनेछ।