सिंगापुरमा भएको ४७ औँ इफाप्का सम्मेलनमा नेपाललाई सम्मान - Chaitanya News
  • 2026-11-16
  • 21:04:36
  • सोमबार,मंसिर ०१, २०८३
  • सिंगापुरमा भएको ४७ औँ इफाप्का सम्मेलनमा नेपाललाई सम्मान

    सिंगापुरमा भएको ४७ औँ इफाप्का सम्मेलनमा नेपाललाई सम्मान

    काठमाडौँ– सिंगापुरमा भएको एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका मुलुकहरूको साझा निर्माण संगठन (इफाप्का) को ४७ औँ सम्मेलनमा नेपालले अर्थपूर्ण सहभागिता जनाएको छ।

    सम्मेलनमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोली सहभागी भएको थियो। नेपाली प्रतिनिधिमण्डलको नेतृत्वकर्ताको हैसियतले सम्मेलनलाई सम्बोधन गर्दै सिंहले निर्माण उद्योगको विकासका लागि इफाप्का जस्ता क्षेत्रीय संगठनका सदस्य राष्ट्रहरूबिचको सहकार्य जरुरी भएको बताएका थिए।

    निर्माण उद्योगमा समस्या देखिएको वर्तमान अवस्थामा ‘भोलिको निर्माणलाई अंकमाल’ भन्ने नारा सहित ४७ औँ इफाप्का सम्मेलन सिंगापुरमा आयोजना गरिएको हो। सम्मेलनकै अवधिमा आयोजना गरिएका इफाप्का मातहतका विभिन्न समिति बैठकमा पनि नेपालले सहभागिता जनाएको थियो।

    यसैबिच भव्य रूपमा ४६ औँ इफाप्का सम्मेलन सम्पन्न गरेको भन्दै नेपाललाई सम्मान गरिएको थियो। सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा तत्कालीन इफाप्का अध्यक्ष एवं नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र तत्कालीन इफाप्का महासचिव एवं नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार वीरेन्द्रराज पाण्डेलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो।

    पाँचौँ पटक इफाप्का सम्मेलनमा भाग लिए बापत नेपालका अनिल सिलवाललाई पनि सो अवसरमा सम्मान गरिएको थियो। सम्मेलनमा सहभागी नेपाली टोलीले छोटो अवधिमा सिंगापुर एवं मलेसियाले भौतिक पूर्वाधारको क्षेत्रमा हासिल गरेको प्रगतिको स्थलगत अवलोकन पनि गरेको थियो। सम्मेलन २०८१ को चैत्र २५ बाट सुरु भई २९ गते सम्म चलेको थियो।