काठमाडौं– आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ। आज (बुधबार) भएको खेलमा नेपालले हङकङलाई सहजै ९ विकेटले हराएको हो।
तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्यो। ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे। त्यसअघि निरज यादवले २३ रन बनाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको हो। शिव माथुरले सर्वाधिक ६३ रन बनाए। आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए।
सुरुवाती विकेट १० रनको योगफलमै गुमाएको हङकङका लागि माथुर र पन्जवानीले डिफेन्सिभ शटहरू खेल्दै अर्धशतकीय साझेदारी बनाए। ६० रन जोड्दा दोस्रो विकेट गुमाएको हङकङले त्यसपछि निरन्तर विकेट गुमाइरहँदा सामान्य योगफलमै चित्त बुझायो।