काठमाडौं– स्थानीय बजारमा खाने तेलको मूल्य घटेको छ। नेपाल खुद्रा व्यापार संघले उपलब्ध गराएको तथ्यांकले खाने तेलको मूल्य घटेको देखाएको हो।
संघले १ वैशाखमा सार्वजनिक गरेको खाद्यान्नको खुद्रा मूल्यसूची अनुसार सनफ्लावर तेल र भटमासको तेलको मूल्य लिटरमा ५ रुपैयाँ घटेको छ। संघले प्रत्येक महिना १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्ने गरेको छ।
बजारमा भुटेको तोरीको तेल, काँचो तोरीको तेल, सनफ्लावर तेल र भटमासको खाने तेल किन्न पाइन्छ।
१ वैशाखमा संघले सार्वजनिक गरेको तथ्यांक अनुसार भुटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि ३ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ।
यस्तै भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।
१५ चैतमा भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५५ रुपैयाँमा किनबेच भइरहेको थियो भने भुटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो।