काठमाडौं– स्पीनरले कसिलो बलिङ गरेपछि नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा हङकङलाई ११५ रनमा अलआउट गरेको छ।
तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको हो। शिव माथुरले सर्वाधिक ६३ रन बनाए। आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए।
सुरुवाती विकेट १० रनको योगफलमै गुमाएको हङकङका लागि माथुर र पन्जवानीले डिफेन्सिभ शटहरू खेल्दै अर्धशतकीय साझेदारी बनाए। ६० रन जोड्दा दोस्रो विकेट गुमाएको हङकङले त्यसपछि निरन्तर विकेट गुमाइरहँदा सामान्य योगफलमै चित्त बुझायो।
नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए। विपिनप्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए। सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए।
नेपालले हालसम्म खेलेका दुईवटै खेल जितेको छ भने आज तेस्रो जित निकाल्ने लक्ष्यमा छ। नेपालजस्तै दुई खेल जितेको अफगानिस्तान आज यूएईसँग माथिल्लो मुलपानीमा खेल्दै छ र बलियो प्रदर्शन गरिरहेको छ।