कक्षा १२ को परीक्षा ११ गतेदेखि सञ्चालन हुँदै, शिक्षकको आन्दोलन नरोकिए प्रभावित हुने - Chaitanya News
  • 2026-07-17
  • 09:42:59
  • शुक्रबार,साउन ०१, २०८३
  • कक्षा १२ को परीक्षा ११ गतेदेखि सञ्चालन हुँदै, शिक्षकको आन्दोलन नरोकिए प्रभावित हुने

    कक्षा १२ को परीक्षा ११ गतेदेखि सञ्चालन हुँदै, शिक्षकको आन्दोलन नरोकिए प्रभावित हुने

    काठमाडौं– कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सञ्चालन हुँदै छ । तर, शिक्षकहरूले परीक्षाको व्यवस्थापन र सञ्चालनमा सहभागी नहुने घोषणा गरेकाले परीक्षा सञ्चालन गर्ने शिक्षकले नै सहभागी नहुने बताएपछि अन्योल भएको छ।

    राष्ट्रिय परीक्षा बोडर्का अध्यक्ष महाश्रम शर्मा यहि गतिमा शिक्षकहरूको आन्दोलन जारी रहेमा परीक्षा प्रभावित हुने बताउँछन्। ‘आन्दोलन रोकिएन भने प्रभावित हुन्छ। परीक्षाको व्यवस्थापन गर्ने नै शिक्षक हो। तर, सरकार र शिक्षकको संवाद निष्कर्षमा पुग्छ भन्ने विश्वास छ’, उनले भने।

    बोर्डले परीक्षाको तयारी पूरा गरेको उनले बताए। ‘बोर्डले तयारी गरेको छ। व्यवस्थापन गर्न पनि भनेका छौं ।विद्यार्थीको भविस्य भनेको हामी सबैको भविष्य हो। कक्षा १२ उच्च शिक्षामा जाने परीक्षा हो। अन्तर्राष्ट्रिय विषय पनि हो। एक दिन अफ्ट्यारो भ्स्यो भने पनि असर पर्छ’, उनले भने, ‘बोर्डले अनुरोध गरेको छ। सरकार र शिक्षकबीचको संवाद टुंगिन पर्‍यो।

    शिक्षकले परीक्षा नरोक्ने उनले विश्वास व्यक्त गरे। ‘आफैंले पढाएको विद्यार्थीको परीक्षा रोक्छौं भन्नु राम्रो होइन। शिक्षकले रोक्नु हुन्छ भन्ने विश्वास छैन’, उनले भने।

    बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार परीक्षा दिने करिब ५ लाख विद्यार्थी छन्। उनले पनि परीक्षा नरोकिने बताए। ‘क्यालेन्डर बनाएर काम गरेका छौं। यो मितिमा परीक्षा हुने एक वर्षअघि नै थाहा थियो। परीक्षा प्रभावित हुँदैन भन्ने विश्वास छ’, उनले भने।