निजामती सेवामा कम्तिमा दुई वर्षको कुलिङ समय राख्न प्रस्ताव - Chaitanya News
  • 2026-05-24
  • 08:18:17
  • आइतबार,जेठ १०, २०८३
  • निजामती सेवामा कम्तिमा दुई वर्षको कुलिङ समय राख्न प्रस्ताव

    निजामती सेवामा कम्तिमा दुई वर्षको कुलिङ समय राख्न प्रस्ताव

    काठमाडौँ– संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारी सेवानिवृत्त भएको २ वर्षसम्म संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नियुक्ति लिन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

    विधेयकअनुसार रिटार्यड सचिव र सहसचिवले पहिलो २ वर्षसम्म अन्तर सरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदारबाहेकका निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताका रूपमा काम गर्न पनि नपाइने व्यवस्था छ।

    विधेयकमाथि संसदीय समितिमा छलफल हुँदा उच्च पदस्थ सरकारी कर्मचारीहरूलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कुलिङ पिरियडको पक्ष र विपक्षमा बहस भएको थियो। उच्चपदस्थ कर्मचारीहरू कुलिङ पिरियड राख्न नहुने पक्षमा छन्।

    यसैबिच नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवामा कम्तिमा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने बताएका छन् । यसले पारदर्शिता बढाउने र स्वार्थको द्वन्द्वलाई कम गर्न मद्दत पुग्ने उनले बताएका हुन् ।

    नेता कोइरालाले भनेका छन्, ‘कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्दछ। यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ इन्ट्रेस्टलाई कम गर्न मद्दत गर्दछ।’