तोमनाथ उप्रेती:
उपसचिव, नेपाल सरकार
मानव मन अत्यन्त चञ्चल छ र यसको स्वभाव स्थिर रहन सक्दैन। यो निरन्तर बदलिँदो र अनियन्त्रित हुन्छ। मनका विचार, भावना र इच्छाहरू मानिसको मानसिक स्थिति र निर्णयमा ठूलो प्रभाव पार्छन्। जबसम्म मानिसले आफ्नो मनलाई नियन्त्रणमा राख्न सक्दैन, उसले आफ्ना लक्ष्यहरू प्राप्त गर्नमा कठिनाइ भोग्न सक्छ। मनको चञ्चलता मात्र व्यक्तिगत जीवनमा होइन, कार्यक्षेत्र र सामाजिक सम्बन्धमा पनि अवरोध ल्याउँछ।
मनको चञ्चलता प्रायः बाह्य र आन्तरिक प्रेरणाबाट उत्पन्न हुन्छ। बाह्य रूपले, मानिसलाई अनगिन्ती विचारहरू र घटनाहरूले आकर्षित गर्छन् जसले उसका ध्यानलाई भटकाउँछ। आन्तरिक रूपमा, मानिसका भावना र इच्छाहरू उसको मनको चञ्चलतालाई बढाउँछन्। यस्ता विचार र भावना मानिसलाई लक्ष्य निर्धारण गर्न र त्यसमा केन्द्रित रहन असमर्थ बनाउँछन्। उदाहरणका लागि, कुनै व्यक्तिले पढ्न चाहन्छ, तर उसका मनमा अनावश्यक विचारहरू घुम्न थाल्छन् जसले उसलाई असमर्थ बनाउँछन्।
भगवानले मानिसलाई आफ्नो कल्याण आफैँ गरोस् भन्ने स्वतन्त्रता दिएर भविष्य निर्माण गर्ने मौका दिनु भएको छ । यस मानव जन्मको सदुपयोग गर्ने उसको कर्तव्य हो । सांसारिक विषय भोगतिर मात्र नलागेर आफ्नो अमूल्य जीवन नष्ट हुनुबाट बचाउन पुरुषार्थ गर्नका लागि श्रीमद्भागवतमा भनिएको छ –अनेक जन्महरू पछि यस परम पुरुषार्थको साधन स्वरूप मनुष्य शरीर जुन अनित्य भएर पनि अत्यन्त दुर्लभ छ त्यसलाई पाएर बुद्धिमान पुरुषले शीघ्रतिशीघ्र मृत्यु हुनु भन्दा पहिले नै आफ्नो कल्याणको लागि प्रयत्न गर्नुपर्छ । विषय भोग त अरू योनिहरूमा पनि प्राप्त हुन सक्छन् । त्यस कारण संग्र्रह र उपभोग गर्न पट्टि मात्र लागेर यस अमूल्य जीवनलाई नष्ट हुन दिनु हुदैंन । मनलाई सदा अस्थिर बनाई राख्ने इच्छाद्वारा उत्पन्न भावनाहरू जुन मानिसको चेतनामा प्रवेश गरेर रिस, राग, भय, ईर्ष्या, घृणा, लोभ, चिन्ता आदि हानिकारक अवगुण उत्पन्न गरी दिन्छन्, यी अवगुणहरूले मानिसको चेतना क्षुब्ध र अशान्त बनाइदिन्छन् । त्यसैले यी अवगुण तुरुन्त हटाउने प्रयत्न गर्नु पर्छ । गीतामा भगवान् श्रीकृष्णले भन्नु भएको छ –अर्थात् विषयासक्त मनुष्यको कामनाबाट क्रोध उत्पन्न हुन्छ, क्रोधबाट मोह, मोहबाट स्मरण शक्ति भ्रमित हुन्छ, यसले बुद्धि नाश हुन्छ र बुद्धि नाश भएपछि मनुष्यको आध्यात्मिक जीवन नष्ट हुन्छ ।
मनलाई नियन्त्रणमा राख्नका लागि ध्यान र मानसिक अभ्यास आवश्यक छ। जब व्यक्तिले आफ्नो मानसिक स्थिति र भावनालाई बुझेर र नियन्त्रण गरेर सकारात्मक र स्पष्ट सोच निर्माण गर्छ, तब मात्र ऊ आफ्नो निश्चित लक्ष्यमा अग्रसर हुन सक्छ। ध्यान, धार्मिक अभ्यास, योग र मनोविज्ञानका उपायहरूले मानिसलाई मानसिक शान्ति र अनुशासनमा मद्दत पुर्याउँछन्। मनको नियन्त्रणले व्यक्तिलाई सकारात्मक सोच र आत्मविश्वासका साथ उद्देश्यमा लाग्न सक्दछ।अन्ततः, मनलाई नियन्त्रण गर्न सक्नु नै सफलता र जीवनका चुनौतीहरूलाई सुल्झाउनको प्रमुख कुंजी हो।
मन प्रायः आफ्नै संसारमा रमाउँछ । कसको मन कतिबेला कहाँ पुगेको छ भनेर नापजाँच गर्ने यन्त्र हुँदो हो त मानिसहरू आफू रहेको ठाउँमा कमै भेटिन्थे होलान् । मनलाई दुई भागमा बाँडेर चर्चा गर्ने गरिएको छ, चेतन मन र अवचेतन मन । मान्छेले नचाहँदा–नचाहँदै पनि अवचेतन मनको कुरा कहिलेकाहीँ बाहिर आइदिन्छ । अनि कहिलेकाहीँचाहिँ मुखले बोल्ने र मनले सोच्ने कुरा फरक हुन सक्छ । मनमा जे छ बाहिर त्यही बोल्ने र गर्ने मानिसहरूको सङ्ख्या त्यति ठूलो हुँदैन भन्ने छ । मनले विचार उत्पन्न गर्छ । प्रेम र घृणा दुवै मनबाटै उत्पन्न हुने हुन् । आफ्नो मनलाई ‘कन्ट्रोल गर, नियन्त्रणमा राख भनेर सानैदेखि सुनिएको भए पनि मनलाई नियन्त्रण गर्ने रिमोटकन्ट्रोलचाहिँ अहिलेसम्म बनेको छैन । भविष्यमा बन्ने सम्भावना पनि देखिँदैन । मनलाई वशमा राख्ने काम व्यक्ति स्वयम्को हो । मनमा उत्पन्न हुने भावना र मस्तिष्कमा उत्पन्न हुने विचारको जिम्मेवार मानिस स्वयम् हो । अरूले यी कुराको जिम्मेवारी लिन सक्दैन । भगवान् गौतम बुद्धले जीवनमा सुखदुःखको कारण मन भएकाले मनलाई शत्रु नबनाउ भन्नुभएको छ ।
यी भावना तथा विचार स्थिर भएपछि मात्र मानिसको अन्तर मनले काम गर्न थाल्छ । मनलाई अस्थिर राख्न उत्प्रेरित गर्ने कारक तत्वहरू मध्ये मुख्य जड तत्व उसको इच्छा हो । यसले विचार तथा भावनाहरूलाई विचलित गरिदिन्छ र मन स्थिर रहन दिदैंन । त्यस कारण मानिसले पहिला इच्छालाई नियन्त्रणमा लिने उपायबारे सोच्नु आवश्यक हुन्छ ।
मनको चञ्चलता मानिसको स्वभाव जन्य गुण हो, यसलाई स्थिर राख्न सक्नु उसको दिव्य स्वभाव हो । आफूभित्र त्यस दिव्यताको अनुभूति गर्न सबैभन्दा पहिले मानिसले वाधा अड्चन फुकाउनु पर्छ जसले उसको मनलाई स्थिर हुनुबाट रोकिराखेका छन् । मनलाई स्थिर हुन नदिने मुख्य कारक तत्व इच्छा हो । एक इच्छा पूर्ण हुन्छ अर्को थपिदैं जान्छ ।मनमा उठेका खराब संवेगहरुलाई शारीरिक व्यायाम, योग, सहयोगी र सुरक्षाको भाव, ध्यानले कम गर्न सकिन्छ। त्यस्तै नकारात्मक प्रकृतिका कुराकानीबाट जोगिने, आफूलाई स्थिर राखी उत्साही बन्ने प्रयासको अभ्यास पनि धेरै महत्वपूर्ण हुन्छ। जबसम्म हाम्रो भौतिक शरीरको अस्तित्व रहन्छ तबसम्म मनुष्यको पदार्थसँगको सम्बन्ध रहिरहन्छ । परन्तु उसले इन्द्रियहरूको तृप्तिका लागि मात्र सोच्नु हुँदैन । यदि मनले कुनै इन्द्रियका विषयमा, कुनै व्यक्ति, वस्तु, घटना, परिस्थितिका बारेमा चिन्तन गर्न थाल्यो भने हाम्रा इच्छाहरु बढ्दै जान्छन् ।
दुःखको समाधान नै मुक्ति वा मोक्ष हो भन्ने दार्शनिक मत छ । दुःख भगाउन र सधैं खुशी हुन चाहने आफ्ना चेलाहरुलाई विवेकानन्द भन्छन् “एउटा विचार राख्नुहोस्, त्यो विचारलाई आफ्नो जीवन बनाउनुहोस्, यसको बारेमा सोच्नुहोस्, यसको बारेमा सपना देख्नुहोस् र दिमाग लगायतका शरीरको मांसपेशीहरु र स्नायुहरूलाई समेत एकैसाथ त्यो विचारमा समाहित गर्नुहोस् । एउटा विचार सोचेसम्म अर्को विचारलाई दिमागबाट हटाउनुहोस् ।स्वामी विवेकानन्दको विचारमा अनियन्त्रित दिमागले हामीलाई जीवनमा नकारात्मकता तर्फ डोहो¥याउँछ र नियन्त्रित दिमागले हामीलाई यस नकारात्मकताबाट जोगाउँछ । उनले भनेका छन् ‘आत्म जागरूकता नै आफ्नो दिमागलाई नियन्त्रण गर्ने उत्तम तरिका हो ।इच्छाशक्ति र अठोटले दिमागलाई भड्काउनबाट पनि रोक्न सक्छ । यद्यपि उनका अधिकांश शिक्षाहरू चेतावनीमूलक छन् । किनकि उनका अनुसार दिमागलाई वशमा राख्नको लागि एउटै विचारलाई बारम्बार अभ्यासमा ल्याउनु आवश्यक छ । दिमाग नियन्त्रण गर्न दिनको दुई पटक ध्यान गर्न सुझाव दिन्छन् विवेकानन्द । विशेषगरी बिहान र साँझको समय ध्यानको लागि उपयुक्त हुन्छ । किनकि यो समय दिनको शान्त समय हो ।उनलाई विश्वास छ कि यसले दिमागमा हुने उतारचढावलाई कम गर्न मद्दत गर्छ । दिमागलाई नियन्त्रणमा राख्ने सम्बन्धमा विवेकानन्दले एकाग्रतालाई जोड दिएका छन् । एकाग्रताले मानिसलाई पाशुवत रुपबाट मुक्त गर्न मद्दत गर्छ ।
आध्यात्मिक जीवनलाई नष्ट हुनबाट बचाउने एकमात्र उपाय ध्यान हो, यो लक्ष्य र लक्षितको समन्वित स्वरूप हो, आत्मालाई परमात्मासँग पुनर्मिलन गराउने क्रिया हो । जबसम्म यस भौतिक शरीरको अस्तित्व रहन्छ तबसम्म मनुष्यको पदार्थसँगको सम्बन्ध रहिरहन्छ । परन्तु उसले इन्द्रियहरूको तृप्तिका लागि मात्र सोच्नु हुँदैन । यदि मनले कुनै इन्द्यियका विषयमा, कुनै व्यक्ति, वस्तु, घटना, परिस्थितिका बारेमा चिन्तन गर्न थाल्यो भने तुरुन्त ती विषयहरूबाट मनलाई हटाएर आराध्य देव परमेश्वरमा लगाई हाल्नु पर्छ । बाहिरका दृश्यलाई आखाँ झिमिक्क गरेर जसरी हटाउन सकिन्छ त्यसरी नै मनभित्रका संकल्प विकल्पलाई पनि हटाउन सकिन्छ । यसका लागि निरन्तर ध्यान योगको अभ्यासले मात्र सहजरुपमा मनको चंचलतालाई नियन्त्रण गरेर परमेश्वरको सानिध्यता प्राप्त गर्न सकिन्छ ।
हामी सकारात्मक सोच्छौ भने हामी सकारात्मक बन्छौ, तर यदि हामी नकारात्मक सोच्छौ भने हामी त्यही बन्छौ ।दैनिक जीवनमा आफ्नो विचारप्रति मात्र सकारात्मक रहियो भने जीवनमा अकल्पनीय परिवर्तनहरू देखिनेछन्।अशान्त मनलाई शान्त पार्न मुस्किल त छैन तर यसका लागि केहि उपायहरुको भने सहि तरिकाले अपनाउनुपर्छ। जबसम्म मानिसले आफ्नो मनलाई शान्त गर्न सिक्दैन तबसम्म उसले जीवनमा अरू केही पनि कुरा राम्रोसँग सिक्न सक्दैन। अस्थिर र चन्चल दिमागका कारण धेरै पटक हामी ठूला निर्णय लिन सक्दैनौं र सानो कुरामा गल्ती गर्छौं। यी गल्तीहरूबाट बच्न र मनलाई शान्त पार्न केहि उपायहरु निकै नै लाभदायक हुन सक्छन्। आफ्नो मनलाई शान्त पार्ने सबैभन्दा राम्रो उपाय हो योगा गर्नु । योगा गर्नाले मन र दिमाग दुवै शान्त हुन्छ। योगको मुख्य फाइदा दिमागलाई शान्तपार्नु हो। योगको सहायताले थोरै समयमा मनलाई शान्त बनाउन सकिन्छ । केही प्रकारका योगहरु पनि छन्, जसको सहायताले मनलाई लामो समयसम्म शान्त राख्न सकिन्छ। कुनै दृश्यमा ध्यान केन्द्रित गर्दा मन शान्त हुन्छ। यो उपाय अलि ध्यान जस्तो लागे पनि यो ध्यानभन्दा फरक छ। कुनै पनि शब्द वा विचारहरू सोच्नुको सट्टा मनलाई शान्त र खुसी दिने दृश्यमा ध्यान केन्द्रित गर्दा फाइदा हुन्छ।
मनलाई शान्त राख्नका लागि गहिरो सास लिनु एक अचुक उपाय हो। जब हामी श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्छौं, सकारात्मक रसायनहरू मस्तिष्कमा उत्पन्न हुन्छन् जसले दिमागलाई शान्त राख्न मद्दत गर्छ। गहिरो सास लिँदा फोक्सोमा ध्यान केन्द्रित गर्नुपर्नेछ र यसले तुरुन्त शान्ति र राहत ल्याउँछ। मनको अशान्ति भनेको एक महत्वपूर्ण कारण हो, जसले व्यक्तिलाई गलत निर्णय गर्न, असफलता भोग्न र दुख भोग्न मजबुर पार्छ। गीतामा कृष्णले भनेका छन् कि काम, क्रोध, मोह र लोभ मनसँग सम्बन्धित छन्।
शान्ति बाहिरको कुनै स्थानमा खोज्नुको सट्टा, हामीलाई आफ्नो मनको अवस्था बुझ्न र नियन्त्रण गर्न आवश्यक छ। मनको उतारचढावलाई नियन्त्रण गर्न, आहार शुद्ध र सात्विक बनाउन, र शारीरिक अभ्यास गर्नका साथै वाणीमा पनि नियन्त्रण राख्नुपर्छ। मनलाई जित्नका लागि बाह्य प्रयासभन्दा पनि आन्तरिक अभ्यास र ध्यानमा ध्यान दिनु पर्छ। जब हामी आन्तरिक शान्ति प्राप्त गर्छौं, तब मन स्वतः शान्त र सकारात्मक बनि हाम्रो जीवनमा समृद्धि ल्याउँछ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङमा कार्यरत छन्)