सुदूरपश्चिममा स्ववियु निर्वाचननतिजा सार्वजनिक: नेविसंघ पहिलो,अनेरास्ववियु दोस्रो - Chaitanya News
  • 2026-05-14
  • 05:57:32
  • बिहिबार,बैशाख ३१, २०८३
  • सुदूरपश्चिममा स्ववियु निर्वाचननतिजा सार्वजनिक: नेविसंघ पहिलो,अनेरास्ववियु दोस्रो

    सुदूरपश्चिममा स्ववियु निर्वाचननतिजा सार्वजनिक: नेविसंघ पहिलो,अनेरास्ववियु दोस्रो

    धनगढी– सुदूरपश्चिम विश्वविद्यालयका १४ आंगिक क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमध्ये १२ क्याम्पसको नतिजा सार्वजनिक भएको छ।

    तीमध्ये सात क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जित हासिल गर्दै अग्रस्थान बनाउँदा अनेरास्ववियुले पाँच क्याम्पसमा विजय प्राप्त गरेको छ। माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले भने अहिलेसम्म कुनै क्याम्पसमा सफलता हासिल गर्न सकेको छैन।

    कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघका भुवन महरा ४४१ मतसहित दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी संयुक्त अखिल प्यानलका बमबहादुर विश्वकर्माले ३७८ मत प्राप्त गरे। सचिव पदमा नेविसंघकी ज्योति साहु ४७४ मतसहित विजयी भइन् भने कोषाध्यक्षमा नेविसंघकी सोनिया शाह ४४५ मत ल्याएर निर्वाचित भइन्। दुर्गालक्ष्मी क्याम्पसमा नेविसंघविरुद्ध सबै गठबन्धन एकजुट भएर चुनाव लडेका थिए।

    बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीमा नेविसंघका रोशन भट्ट प्यानलसहित विजयी भएका छन्। भट्टले १०१ मत ल्याएर सभापतिमा निर्वाचित भए भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका उमेश बडूले ५० मत प्राप्त गरे। सचिव पदमा नेविसंघकी राधा बोहरा ८५ मतसहित विजयी भइन् भने कोषाध्यक्षमा नेविसंघकी मीना चन्द ९१ मत ल्याएर निर्वाचित भइन्।

    बैतडीकै मणिलेक क्याम्पसमा पनि नेविसंघ प्यानलसहित विजयी भएको छ। सभापतिमा नेपाल विद्यार्थी संघका मनोजदत्त ओझा ४८ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका सरोज भट्टले ३७ मत प्राप्त गरे। सचिव पदमा नेविसंघका दर्शन नेगी ५३ मतसहित निर्वाचित भए भने कोषाध्यक्षमा नेविसंघकी पूजा चन्द ५२ मत ल्याएर विजयी भइन्।

    डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडामा पनि नेविसंघको प्यानल नै विजयी भएको छ। सभापतिमा प्रकाश अवस्थी १६७ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका भोज लोहारले १३२ मत प्राप्त गरे।