पूर्व राजालाई जति धोए पनि सफा बनाउन सकिँदैन : महामन्त्री थापा - Chaitanya News
  • 2026-05-14
  • 05:57:31
  • बिहिबार,बैशाख ३१, २०८३
  • पूर्व राजालाई जति धोए पनि सफा बनाउन सकिँदैन : महामन्त्री थापा

    पूर्व राजालाई जति धोए पनि सफा बनाउन सकिँदैन : महामन्त्री थापा

    काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति धोए पनि सफा बनाउन नसकिने बताएका छन् ।

    आज (बिहीबार) नेपाली कांग्रेस बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनल निर्मल निवासमा बसेर त उत्पात मच्चाउने ज्ञानेन्द्रले नारायणहिटी राजदरबारमा बसेको भए के गर्थे होला भन्दै प्रश्न समेत गरे।

    ‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई पति धोए पनि सफा बनाउन सकिँदैन,’ महामन्त्री थापाले भने, ‘निर्मल निवासमा बसेर त काठमाडौँमा यस्तो उत्पात मच्चाए। अझ नारायणहिटी दरबारमा बसेको भए के गर्थे होला ?

    राजावादीहरूले काठमाडौँमा मात्रै उत्पात मच्चाउन खोजेको र देशका उपत्यका बाहेकका ठाउँमा राजावादीहरूको कुनै पनि कार्यक्रम नभएको थापाले बताए। थापाले भने, ‘म देश घुमेर आए। उपत्यका बाहिर पूरै ठाउँ घुमेर आए। केही छैन। सुनसान छ। काठमाडौँमा मात्रै उत्पात मच्चाउन खोजिएको छ।

    राजावादीहरूको आन्दोलनले केही परिवर्तन गर्न नसक्ने दाबी गर्दै थापाले त्यसको व्यवस्थापनमा समय खेर जाने भयो भन्ने चिन्ता मात्रै आफूलाई रहेको बताए।

    कांग्रेसले स्थापना कालदेखि नै राजसंस्थालाई संवैधानिक बनाउनुपर्छ भनेको र २०४६ सालको जनआन्दोलन सफल भएपछि संवैधानिक राजसंस्था राखिएको बताउँदै महामन्त्री थापाले ज्ञानेन्द्र व्यवहारका कारण आफूहरू लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जान बाध्य भएको बताए।

    अनुभवका आधारमा परिपक्व निर्णय गरेर यो व्यवस्थामा पुगिएको भन्दै अब पुरानो अवस्थामा फर्कन असम्भव रहेको उनको भनाइ थियो। जनताले छानेका प्रतिनिधि देश चलाउन सक्षम रहेको थापाले बताए। बरु मुलुकमा रहेको भ्रष्टाचार र कुशासन कसरी अन्त्य गर्ने भन्नेमा ध्यान दिनुपर्ने उनको भनाई थियो।