काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ३ बजेका लागि बैठक आह्वान गरिएको छ।
बैठकमा सरकारका नियमित कामकाजसँगै केही महत्त्वपूर्ण नियुक्ति, बढुवा लगायतका विषयमा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको
छ। हालै सम्पन्न थाइल्याण्ड भ्रमणको समीक्षा पनि बैठकको कार्यसूचीमा परेको स्रोतले जनाएको छ।
बैठकमा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको विषयमा समेत छलफल हुने भएको छ। वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको छ। उनलाई २०७६ चैत २४ गते पाँच वर्षका लागि गभर्नरमा नियुक्त गरिएको थियो। त्यो बेला प्रधानमन्त्री ओली नै थिए भने अर्थमन्त्रीमा डा। युवराज खतिवडा थिए।
अघिल्लो मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। उक्त समितिमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य छन्। समितिबाट सिफारिस गरिएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्नेछ। सिफारिसमा डेपुटी गभर्नरमध्ये एक अनिवार्य समावेश गर्नुपर्ने प्रावधान अनुसार निलम ढुंगाना र बमबहादुर मिश्रमध्ये एकको नाम सिफारिसमा पर्ने लगभग निश्चित भएको छ।
गभर्नर नियुक्तिको दौडमा अन्य धेरै पात्रहरू पनि सक्रिय छन्। स्रोतका अनुसार यस पटक गभर्नरको जिम्मेवारी नेपाली काँग्रेसको भागमा परेको छ, हाल एमाले(काँग्रेस गठबन्धनको संयुक्त सरकार रहेको सन्दर्भमा यो चर्चा चुलिएको हो।
यसैबीच, नेपाल शिक्षक महासंघको आन्दोलनबारे पनि आजको बैठकमा छलफल हुने भएको छ। विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने माग राख्दै महासंघले बुधबारदेखि राजधानीमा सडक आन्दोलन शुरु गरेको छ। सरकारले वार्तामा आउन आग्रह गरे पनि शिक्षकहरू वार्तामा नबसी आन्दोलनमै रहेको मन्त्रीहरूले बताएका छन्।