काठमाडौँ– पाँच जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित १० जना सहसचिवको सरुवा भएको छ।
आज (शुक्रबार) गृह मन्त्रालयले विभिन्न जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।
मन्त्रालयले सहसचिवको दरबन्दीमा कार्यरत दुई उपसचिव प्रजिअलाई फिर्ता गरेर सहसचिवहरूलाई नै पठाएको छ। खटनपटनका क्रममा पाँच जना सहसचिवहरूलाई प्रजिअमा पदस्थापन गरिएको छ।
मन्त्रालयका अनुसार, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटालाई गृह मन्त्रालयमा तानिएको छ भने गृह मन्त्रालयमा कार्यरत सहसचिव लक्ष्मण ढकाललाई कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। त्यस्तै, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई पनि गृह तान्दै मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याललाई स्याङ्जाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।
यसैगरी, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई गृह मन्त्रालयमा तानिएको छ भने गृह मन्त्रालयका वेद प्रसाद खरेललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरुङलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने गृह मन्त्रालयबाट सहसचिव माधव प्रसाद पोखरेललाई लमजुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।
त्यस्तै, प्युठानका प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी) लाई गृह मन्त्रालयमा ल्याउँदै मन्त्रालयका सहसचिव दिपकराज नेपाललाई प्युठानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।