बागमती प्रदेश सभाको चालु १५औँ अधिवेशन अन्त्य - Chaitanya News
  • 2026-05-15
  • 11:09:57
  • शुक्रबार,जेठ ०१, २०८३
  • बागमती प्रदेश सभाको चालु १५औँ अधिवेशन अन्त्य

    बागमती प्रदेश सभाको चालु १५औँ अधिवेशन अन्त्य

    बागमती– बागमती प्रदेश सभाको चालु १५औँ अधिवेशन आज रातिदेखि अन्त्य भएको छ। आज (बुधबार) दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेश सभाको बैठक नबस्दै प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन्।

    यसअघि प्रतिपक्ष दलहरूले बजेट बाँडफाँटमा सन्तुलन कायम गर्नुपर्नेसहितका माग राख्दै आएकाले बैठक सञ्चालन हुन सकेको थिएन। प्रदेश सरकार मन्त्रीपरिषद्को आज बिहान बसेको बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

    प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले चालु अधिवेशन अन्त्य गरिएको सूचना प्रदेशसभा सचिवालयलाई पठाएपछि प्रदेश सभाको आजका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

    प्रदेश सभाको बैठक सञ्चालनका लागि सभामुख पाठकको पहलमा मंगलबार दिनभर भएको सरकार पक्ष र प्रतिपक्ष दलबीचको छलफलबाट कुनै निष्कर्ष आउन नसकेपछि प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने र त्यसअघि दलहरूबीचको संयुक्त छलफललाई आज पुनः निरन्तरता दिई सहमति कायम गर्ने सैद्धान्तिक सहमति भएको थियो।

    सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच सहमति हुन नसकेपछि प्रदेश सरकारले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।

    प्रतिपक्ष दलहरूको अडानका कारण प्रदेश सभाको बैठक अन्योलमा परेकाले चालु अधिवेशन अन्त्य गरी आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा केन्द्रित हुने सरकारले निर्णय लिएको उनले बताए।

    यसैबीच, प्रतिपक्ष दलहरूले प्रदेश सरकारले हठात्मा चालु अधिवेशन अन्त्य गरी गैरजिम्मेवार ढंगबाट प्रस्तुत भएको भन्दै असन्तुष्टि जनाएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पत्रकार सम्मेलन गरी प्रदेश सरकारले गरेको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

    प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णयले यथाशीघ्र हुने वर्षे अधिवेशनलाई प्रभावित पार्ने बताउँदै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्नप्रसाद ढकालले दलहरूबीच वार्ता, सहमति र सहकार्य कायम गरेर अघि बढ्न सरकारसँग माग गरे।