लोकसेवा परीक्षामार्फत् सरकारी सेवामा प्रवेश गर्ने चाहना सबैमा हुन्छ। यही चाहनालाई साकार पर्ना हजारौ परीक्षार्थीहरू परीक्षामा सामेल हुन्छन् । तर, केही मात्रै सफल हुन्छन् । असफल हुने केही परिक्षार्थीहरूले यो कठिन झमेलामा फस्न चाहदैनन् र लोक सेवाको फर्म भर्ने झन्झटबाट मुक्त हुन्छन् । तर, कुनै असफल परीक्षार्थीहरू एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैनन् र परीक्षामा सामेल भइरहन्छन् । तिनै असफलताबाट नआत्तिएर सफलता हात पार्नेमा पार्वती भण्डारी पनि एक हुन् जसले असफलतासँग कहिले हार मानिनन् ,निरन्तर मेहेनत गर्दै गइन र अन्ततः सफलता हासिल गरिछाडीन् । त्यसो भए लोक सेवा परीक्षामा सफल हुनको रहस्य के छ त ? यिनै विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले तिनै पार्वती भण्डारीसँग संवादको सम्पादित अंश:
1. तपाई शाखा अधिकृतको रुपमा नेपाल सरकारको निजामती सेवामा नाम निकाल्न सफल हुनुभएको छ, कस्तो अनुभूति भईरहेको छ ?
एकदमै खुशी लागिरहेको छ । म यो भन्दा अगाडि २०७६ सालमा खरिदारबाटै निजामती सेवामा प्रवेश गरेकी थिएँ । पछि २०७९ सालमा नायव सुब्बामा नाम निकालेर त्यस पदमा कार्यरत थिएँ । म शाखा अधिकृतको परीक्षामा २ पटक वैकल्पिक परेर अहिले सिफारिस हुन पाउँदा धेरै खुशी लागिरहेको छ
2. यो सफलता प्राप्तिका लागि यहाँले कसरी तयारी गर्नुहुन्थ्यो ?
यसका लागि मैले एकपटक अनलाइन कक्षा लिएँ । त्यसपछि मैले आफूलाई पढ्न सजिलो हुने तरिकाले मुख्य मुख्य विषयहरुलाई खोजेर टिपोट गरेँ । म काठमाडौंबाट टाढा भएकोले भौतिक परिक्षामा सामेल हुन सक्ने अवस्था थिएन । त्यसैले कहिलेकाँहि अनलाईन परीक्षा दिन्थें । र कहिले घरमै टाईमर लगाएर नमुना परीक्षामा समेत सहभागी हुन्थें । आफैले के–कु कुरामा कमजोरी भयो भनेर सुधार गर्ने मौका पाउँथे र सुधार गर्थें । त्यसरी परीक्षाहरु लेख्दै जाँदा आत्मविश्वास बढ्यो र अन्तिम परीक्षामा समेत त्यसले सहज बनायो ।
3. अध्ययनका लागि कुन र कति समय छुट्याउनुहुन्थ्यो ?
म आन्तरिक राजस्व कार्यालय दाङमा ना.सु.पदमा कार्यरत थिएँ । त्यहाँ काम गर्दा दिनभरी कार्यालयमा व्यस्त भइने हुँदा बिहान बेलुका गरेर जम्मा ४–५ घण्टा सँधै पढाईलाई दिन्थें र बिदाको दिनको पूर्ण सदुपयोग गर्थें ।
4. लोकसेवा तयारीका कक्षा र पुस्तकले तयारीमा कस्तो टेवा पुग्छ ?
लोकसेवा तयारीका कक्षा र पुस्तकले विद्यार्थीलाई बाटो डोर्याउने काम गर्छन् । कक्षा लिँदा आफू कुन लेभलमा छु भन्ने थाहा हुन्छ र कुन–कुन विषयमा कसरी अध्ययन गर्ने भन्ने थाहा हुन्छ । साथै आफ्नो कमजोरी पहिल्याई सुधार गर्न समेत मद्दत गर्दछ । पुस्तकले आफ्नो ज्ञान बढाउन महत्पूर्ण भूमिका खेल्दछ।
5. अध्ययन गर्दा कस्ता खाले सामाग्री छनोट गर्न उपयुक्त हुन्छ ? यहाँले कस्ता सामग्रीलाई बढी प्राथमिकता दिनुहुन्थ्यो ?
अध्ययन गर्दा जहिले पनि पाठ्यक्रम हेरी सोहि अनुसारका सामग्री छनोट गर्न उपयुक्त हुन्छ । पुस्तकहरु खरिद गर्दा विषयविज्ञको बारेमा बुझेर किन्नुपर्छ । मैले कुनै एउटा लेखकको किताब किनेर त्यसलाई आधार मानेर अन्य किताबहरु समेत अध्ययन गर्ने गर्थें । परीक्षामा आउन सक्ने र महत्वपूर्ण लागेका विषयलाई टिपोट गर्थें । साथै गोरखापत्र लगायतका विभिन्न पत्र–पत्रिकामा आउने समसामयिक विषयलाई टिपोट गरेर राख्थें, जुन परीक्षामा रिभाईज गर्न सजिलो हुन्छ, साथै समसामयिक विषय अध्ययनको शिलसिलामा यसले विषयवस्तुको भारलाई घटाईदिन्छ । अध्ययन गर्दा पुस्तकका अतिरिक्त वार्षिक बजेट, आर्थिक सर्वेक्षण, राष्ट्र बैंकको वार्षिक प्रतिवेदन, आवधिक योजना, जनगणना लगायत महत्वपूर्ण ऐन कानूनहरुको अध्ययनलाई समेत प्राथमिकता दिन्थें ।
6. स्कुल तहको पढाइपछि तपाईलाई के बन्ने सपना थियो ?
स्कुल तहको पढाइ सकेपछि त्यो समयमा मलाई अन्य सरकारी सेवाको बारेमा खासै जानकारी नभएको हुँदा मलाई एउटा असल शिक्षक बन्ने सपना थियो ।
7. बुवा आमाले पेशागत रुपमा तपाइलाई के बनाउन चाहानुहुन्थ्यो ?
बुवा आमाले जे गरेपनि देशमै केहि गर भन्नुहुन्थ्यो । उहाँहरुलाई पढाइको बारेमा खासै जानकारी नभएको हुँदा यहि नै बन्नुपर्छ भनेर कहिले भन्नुभएन ।
8. तपाईले सरकारी सेवा रोज्नुको कारण के थियो?
मैले करिब चार बर्ष बोर्डिङ स्कुलमा पढाएँ । त्यहाँ पढाउँदा मैले धेरै नै मेहेनत गर्नुपर्ने र त्यसको मूल्य नपाउने भएको हुँदा अब केहि गर्नुपर्छ भन्ने सोँच आयो । त्यति बेला मेरो २ जना सानिमाहरु भर्खरै सरकारी सेवाको रुपमा निजामती सेवामा प्रवेश गर्नुभएको थियो । उहाँहरुले नै तिमीले जागिर खान सक्छ्यौ भनेर भन्नुभएको हुँदा यो पढ्ने योजना बनाएँ र सफल पनि भएँ ।
9. लोकसेवाप्रति युवाको आकर्षण कस्तो देख्नुहुन्छ ?
हाल लोकसेवाप्रति युवाको आकर्षण घट्दै गएको देखिन्छ । धेरैजसो युवाहरु उच्च शिक्षा अध्ययन गर्न विदेश जाने र उतै बस्ने गरेका छन् । अहिले युवाहरुलाई कम समयमा धेरै कमाउने अभिलाशा भएकोले होला नेपालमा बस्न नखोजिरहेको ।
10. अहिलेका लाखौं युवा विदेशिएका छन् । यहाँको मनमा विदेश जाने सोँच आएन ?
मैले ब्याचलर पास गर्दासम्म मेरो बुवाले पनि विदेशमा धेरै वर्ष बिताईसक्नु भएको हुँदा जे–जति गर्छु देशमै गर्छु भन्ने सोँच मनमा पलायो र यहिँ देशमा सेवा गर्छु भनेर लोकसेवाको तयारीमा लागें र आज सफल पनि भए ।
11. लोकसेवा तयारी गरिरहनुभएका निजामती सेवा प्रतिका आकांक्षीहरुलाई कस्तो सन्देश दिन चाहानुहुन्छ ?
म उहाँहरुलाई धेरै क्षेत्रहरुतिर नलागी कुन–कुन तहको परीक्षा दिने हो सोहिको पाठ्यक्रममा आधारित रही निरन्तर अध्ययन गर्नुपर्छ । सम्भव भएसम्म एकपटक भौतिक उपस्थितिमै वा अनलाईनमार्फत कक्षा लिने र समय–समयमा नमुना परीक्षा दिने गर्नुपर्दछ । कक्षाले विद्यार्थीलाई बाहिर बहकिन दिँदैन र परीक्षा दिँदा आफ्नो कमीकमजोरीहरु सुधार्ने अवसर प्राप्त हुन्छ । यदि परीक्षा दिन ईन्स्टिच्युनमा नै जान सकिँदै भने अनलाईन माध्यमबाट वा घरमै टाईमर राखेर भएपनि परीक्षा दिने बानी बसाल्नुपर्छ । जसले लिखित परीक्षामा आफ्नो आत्मविश्वास बढाउन मद्दत गर्दछ । कहिलेकाँहि एक–दुई पटकमा सफलता हाँसिल गर्न सकिँदैन । यस्तो बेलामा हरेस नखाई निरन्तर मेहेनत गर्यो भने अवस्य सफल भईन्छ । यो मेरो भोगाईबाट पनि अनुमान लगाउन सकिन्छ । शाखा अधिकृत तयारी गर्दा २ पटक प्रथम पत्रमा नै असफल भएँ र २ पटक बैकल्पिक पर्दा समेत हरेस नखाई आफ्नो पढाइलाई निरन्तरता दिएँ, त्यसैले आज म शाखा अधिकृत बन्न सफल भएकी छु । अबको परीक्षामा प्रथम पत्रको प्राप्ताङ्क नजोडिने हुँदा लिखित पत्रलाई बढि जोड दिनु राम्रो हुन्छ यसो भन्दै गर्दा प्रथम पत्रलाई बेवास्ता भने गर्नुहुँदैन । त्यसलाई पनि संवेदनशील तवरबाट अध्ययन गर्नुपर्दछ ।