काठमाडौँ– आज (सोमबार) बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ। बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्ने सचिवालयले जनाएको छ ।
आज बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेलगायत कार्यसूची छ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। उनले नै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।