काठमाडौँ– सत्तारुढ नेपाली काँग्रेस सांसदले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे सरकारले गरेको निर्णयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुपर्ने बताएका छन्।आज (मंगलबार) प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा काँग्रेसका सांसदले यस्तो प्रस्ताव राखेका हुन्।
सार्वजनिक लेखा समितिका पूर्वसभापति समेत रहेका काँग्रेसका सांसद रामकृष्ण यादवले पुनर्विचार गर्न पत्र पठाउने प्रस्ताव राखेका हुन्।
‘उहाँ (कुलमान घिसिङ)लाई नहटाउनु पर्ने थियो। अहिले चर्चा परिचर्चा भएको छ। अब लेखा समितिका तर्फबाट प्रधानमन्त्रीलाई पुनर्विचार गर्न पत्र पठाऔँ’ उनले भने।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको छ। तर, मन्त्रिपरिषद्को निर्णयमा मुख्यसचिव एकनारायण अर्यालले हस्ताक्षर गर्न बाँकी रहेकोले कुलमान घिसिङले पदबाट हटेको पत्र पाएका छैनन्।
यो अवस्थामा घिसिङलाई पदबाट हटाउने निर्णयमा पुर्न बिचार गर्न सकिने भन्दै काँग्रेस सांसद यादवले प्रधानमन्त्रीलाई पत्र पठाउने प्रस्ताव गरेका हुन् ।