एसियन कप छनोटमा मलेसियासँग भिड्न नेपाल तयार - Chaitanya News
  • 2026-06-06
  • 00:57:29
  • शुक्रबार,जेठ २२, २०८३
  • एसियन कप छनोटमा मलेसियासँग भिड्न नेपाल तयार

    एसियन कप छनोटमा मलेसियासँग भिड्न नेपाल तयार

    काठमाडौं– सन् २०२७ मा हुने एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा नेपालले मंगलबार मलेसियाको सामना गर्दैछ। मलेसियाविरुद्धको खेलका लागि नेपाली टोली तयारी अवस्थामा छ। सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक म्याट रोसले मलेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताए।

    समूह एफमा रहेको नेपाल र मलेसियाबीचको खेल इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार राती ७स्४५ बजे सुरु हुनेछ। एसियन कपमा पुग्ने अन्तिम चरणको चरणमा दुवै टोलीको लागि यो पहिलो खेल हुनेछ। दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यमा छ।

    गत शुक्रबार सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल जितेर नेपाली टोली उत्साहका साथ मलेसिया पुगेको छ र त्यही लयलाई निरन्तरता दिँदै मलेसियाविरुद्ध कडा चुनौती पेश गर्ने लक्ष्यमा छ।

    प्रशिक्षक रोसले आफूहरू ३ अंककै लागि खेल्ने प्रतिक्रिया दिएका छन्। ‘मलेसिया बलियो टिम हो, ड्र सम्म भएपनि सन्तुष्ट हुन सकिन्छ तर हामी ३ अंककै लागि खेल्नेछौं’ प्रिम्याच कन्फ्रेन्समा बोल्दै उनले भने, ‘हाम्रो योजना भनेको जित्नकै लागि खेल्ने हो, त्यसैअनुसार तयारी भइरहेको छ। बराबरी नै खेल्ने भन्ने सोच हुने छैन।

    त्यस्तै प्रशिक्षक किरण चेम्जोङले अवे मैदान भएपनि राम्रो खेल पस्कने बताएका छन्। ‘हामी नेपालमा पनि धेरै दर्शकहरूको माझमा खेलिसकेका छौं, यहाँ पनि नेपाली समर्थकहरू त हुनुहुन्छ नै’ उनले भने, ‘घरेलु मैदान नभएपनि त्यस्तो फरक पर्दैन, हामी खेल इन्जोए गर्नेछौं यहाँ जुन टिमको दर्शकहरू धेरै भएपनि हामीलाई त्यस्तो फरक पर्दैन। ‘

    सिंगापुरमा नेपालको खेल हेर्न नेपाली दर्शकहरुको बाक्लो उपस्थिती थियो। मलेसियामा पनि नेपालीहरु धेरै रहेकोले नेपालको खेल हेर्न उपस्थित हुनेछन्। कप्तान किरण चेम्जोङले धेरै समर्थकहरु आउँदा फाइदा हुने बताएका हुन्।

    नेपालले अहिलेसम्म मलेसियालाई हराउन सकेको छैन। वरियतामा पनि मलेसिया नेपाल भन्दा ४३ स्थान माथि छ। हाल मलेसिया १३२औं र नेपाल १७५औं स्थानमा छ।

    पछिल्लो पटक नेपालले सन् २०१९ मा मलेसियासँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा नेपाल २(० ले पराजित भएको थियो। नेपाल र मलेसियाबीच अहिलेसम्म ७ खेल भएको छ। जसमा ६ खेल मलेसियाले जित्दा १ खेल बराबरीमा सकिएको थियो।

    सन् १९८३ मा भएको मर्डेका कपमा नेपाल मलेसियासँग ७(० ले पराजित भएको थियो। त्यसपछि नेपालले सन् १९८५ र १९८९ मा विश्वकप छनोट अन्तर्गत मलेसियासँग २–२ खेल खेलेको थियो। १९८५ मा पहिलो खेलमा मलेसियालाई बराबरीमा रोकेको नेपाल दोस्रो खेलमा ५–० ले पराजित भएको थियो। १९८९ मा भने नपाल २(० र ३–० ले पराजित भएको थियो।

    यस्तै २००९ मा भएको मैत्रीपूर्ण खेलमा पनि नेपाल मलेसियासँग २(० ले पराजित भएको थियो। एसियन कप छनोटको पहिलो खेल नेपालले मलेसियासँग घरेलु मैदानमा खेल्ने तय भएपनि दशरथ रंगशालमाले मान्यता नपाउँदा नेपालले मलेसियामा गएर खेल्न लागेको हो।

    दशरथ रंगशालालाई एएफसीले अन्तर्राष्ट्रिय खेल खेलाउन तत्काल मान्यता नदिएपछि नेपालले मलेसियासँग होम म्याच स्वाप गरेको हो। जस अनुसार नेपालको होम म्याच मलेसियाको मैदानमा खेल्ने र मलेसियाको होम म्याच पछि नेपालमा खेल्ने सहमति छ।

    एसियन कप छनोटको तेस्रो तथा अन्तिम चरणमा एसियाका २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। नेपाल र मलेसियासहित भियतनाम र लाओस समूह एफमा छन्।

    होम एण्ड अवेका आधारमा हुने यस छनोटपछि प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली २०२७ मा हुने एसियन कपमा छनोट हुनेछन्। एसियन कपका लागि १८ टोली यसअघि नै छनोट भइसकेका छन्।