यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय - Chaitanya News
  • 2026-05-15
  • 13:38:28
  • शुक्रबार,जेठ ०१, २०८३
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय

    काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

    विश्व बैङ्कमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

    यि हुन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय:

    –नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिसमक्ष पेस गर्ने।

    –विश्व बैङ्कमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने।

    –ऋण असुली न्यायाधिकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याल, काठमाडौँलाई नियुक्त गर्ने।

    –नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षकका दीपक थापालाई नियुक्त गर्ने।

    –विक्रम संवत् २०८१ साल चैत २४ गतेका दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने।

    –राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्ट, बैतडीलाई नियुक्त गर्ने।

    –२०८१ साल चैत ४ गतेदेखि ६ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने राइसिना डायलगको दसौँ संस्करणमा माननीय परराष्ट्रमन्त्री डा।आरजु राणा देउवालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

    –नेपाल सरकारको नाममा दर्ता रहेको काभ्रेपलान्चोक जिल्ला साविक मेथिनकोट गाविस वडा नं.६ को ६ रोपनी र साविक पोखरी नारायणस्थान गाविस वडा नं. ३ को ६ रोपनी जग्गा क्रमशः प्रहरी चौकी भकुण्डेवेशी र प्रहरी चौकी पोखरी नारायणस्थानको भवन निर्माण गर्नको लागि प्रयोग गर्न स्वीकृति दिने।

    –नेपाली सेनातर्फ उपरथी पद एकमा विशेष बढुवा, सहायक रथी पद एकमा बढुवा र सहायक रथी पद एकमा पदावधि थप गर्ने।

    –यदुनाथ पौडेल, अर्घाखाँचीलाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिने।

    –पवित्रा सुवेदी, सुर्खेत र रामशरण सापकोटा, मकवानपुरलाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्ति गर्ने।