दुवै सदनको बैठक बस्दै, कस्ता छन् कार्यसूची ? - Chaitanya News
  • 2026-05-15
  • 14:31:44
  • शुक्रबार,जेठ ०१, २०८३
  • दुवै सदनको बैठक बस्दै, कस्ता छन् कार्यसूची ?

    दुवै सदनको बैठक बस्दै, कस्ता छन् कार्यसूची ?

    काठमाडौँ– संघीय संसद्अन्तर्गत आज (बुधबार) पनि दुवै सदनको बैठक बस्ने तय भएको छ । जसअनुसार, बिहान ११ बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

    राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ।

    गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने छन् ।

    यसैगरी, नेपाल नागरिकता (दोस्रो संशोधन( विधेयक, २०८१’ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने बैठकको कार्यसूचीमा उल्लेख छ। गृहमन्त्री लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    त्यस्तै, दिउसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।

    राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ।

    बैठकमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू सभामा टेबुल गर्ने कार्ययोजना रहेको छ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।