काठमाडौँ– आज (सोमबार) संघीय संसद्का दुवै सदनको बैठक बस्ने तय भएको छ। जसअनुसार बिहान ११ १५ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि दफावार छलफल र पारित गर्न प्रस्तुत गर्ने कार्यसूचि रहेको छ।
यसैगरी,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ दफावार छलफल गर्दै पारित गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
यस्तै, दिउसो १स्१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची छ।
मन्त्री भट्टराईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने र तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।