काठमाडौं– नेकपा एमालेका सांसद रघुजी पन्तले संसद्भित्र राजतन्त्रको विषयमा छलफल गर्न नपाइने बताएका छन् ।आज (आइतबार )प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
यस्तै उनले वर्तमान संविधानले गणतन्त्रलाई आत्मसाथ गरेकाले राजतन्त्र नचिन्ने जिकिर समेत गरे । समयको मागसँगै गणतन्त्रको स्थापना भइसकेकाले राजतन्त्रको विषय इतिहासमा सीमित भएको उनको भनाइ थियो ।
‘अहिलेको संविधानले राजतन्त्र चिन्दैन, त्यसैले त्यो विषमा संसदभित्र छलफल गर्न पाइँदैन, त्यसले गणतन्त्र मात्रै चिन्छ। राजतन्त्र इतिहासको विषय भइसक्यो,’ पन्तले भने।
समयको प्रवाहसँगै विश्वका राजतन्त्रहरु समाप्त भएर गणतन्त्र स्थापना भएको उनको भनाइ छ। नेपालको इतिहासमा मल्ल, किरात, लिच्छवी वंशलगायतको राजतन्त्र भएको भन्दै अहिले पुनःस्थापनाका लागि किन शाह वंशको कुरा गरेको भन्ने उनको प्रश्न थियो।
संसारमा धेरै राजतन्त्र इतिहासको विषय हुन्छन् किनभने राजतन्त्र भनेको विशेष अधिकार हो। त्यसैले संसाको राजनीतिको प्रवाह गणतन्त्र हो। नेपालमा गणतन्त्र आउनु पथ्र्यो आयो, अब पुनःस्थापना भन्नेहरुलाई सोधौ न, किन शाह वंशकै राजतन्त्र चाहियो ?,’ पन्तले भने, ‘यो भन्दा अघिको मल्ल वंश नल्याउने तिनको पनि हक लाग्ला। त्यो भन्दा अगाडिका लिच्छवी र किराँत किन नल्याउने ? त्यो भन्दा अघिका गोपालवंशी र महिशपाल वंशले किन पुनःस्थापनाको कुरा नगर्ने ? कुन राजतन्त्रको कुरा ? संसारको इतिहासमा थुप्रै राजतन्त्र आउँछन् जान्छन् यो समयको प्रवाह हो। गणतन्त्र आजको युगको सत्य हो।