प्रादेशिक प्रदर्शनी सबल अर्थतन्त्रको खुड्किलो - Chaitanya News
  • 2026-05-01
  • 03:58:30
  • बिहिबार,बैशाख १७, २०८३
  • प्रादेशिक प्रदर्शनी सबल अर्थतन्त्रको खुड्किलो

    प्रादेशिक प्रदर्शनी सबल अर्थतन्त्रको खुड्किलो

    शोभा ढकाल:

    कला सिर्जनात्मक अभिव्यक्ति हो । भावनात्मक संवेग र आत्मानुभूतिको प्रस्फूटित रुप कला हो । प्रकृति, समाज, संस्कृति, मानव जीवनशैली, मानवीय रहन–सहन आदि कलाका विभिन्न माध्यमबाट व्यक्त हुन्छन् । विशेषगरी चित्रकला, मूर्तिकला, वास्तुकला, लोककला, हस्तकला, कलाका बहुआयाम आदिका माध्यमबाट ललितकला प्रस्तुत गरिन्छ । समाज, संस्कृति, जनजीवन, राजनीतिक व्यवस्था सधै सोही अवस्थामा नरहन सक्छ, तर कलाका माध्यमबाट तिनलाई वर्षौसम्म जीवन्त बनाउने र मूर्तता प्रदान गर्न सकिन्छ । कलाको ऐतिहासिक विरासतलाई केलाउँदा पाषण युगदेखि नै विभिन्न तरिका र माध्यमबाट प्रकटीकरण भएको पाउँछौं । पाषाण युगमा कलालाई जादु र कलाकारलाई जादुगरका रुपमा लिइन्थ्यो ।

    हृदयको स्पन्दनलाई छाम्न, बुझ्न र चेतना निर्माणका काममा समेत कलाको विशिष्ट भूमिका रहन्छ । ललितकलालाई चित्रकला, मूर्तिकला र वास्तुकला आदिका रुपमा चिनिएता पनि सिर्जना, सभ्यता, मौलिकपन, संस्कृतिको पक्षमा समेत घनिभूत रुपमा आउँछ । चित्रकलाअन्तर्गत ग्रन्थचित्र (गाता वा पात्रो), परम्परागत (पौभा÷थाङ्का) चित्र, लोकचित्रकला, भित्तेचित्र, कपडा वा क्यानभासमा बनाउने चित्र आदि पर्दछन् । मूर्तिकलाअन्तर्गत प्रस्तरकला, काष्ठकला, मृतिका कला, धातुकलालगायत विभिन्न माध्यममा बनेका त्रिआयामिक कला पर्दछन् । वास्तुकला आवास वा बस्नका निमित्त मानिसले निर्माण गरेको संरचना हो । यसअन्तर्गत प्यागोडा, शिखर, स्तुपा, ग्रीक, मुगल, राजपुत, लोक÷परम्परागतलगायतका वास्तुकला शैली आदि पर्दछन् । कुनै पनि देश सांस्कृतिक रुपमा कति सभ्य छ भन्ने कुरा त्यो देशको ललितकलाको आयामबाट चिनिन्छ । राष्ट्रलाई विश्वमा चिनाउने प्रमुख माध्यम भनेकै कला हो । प्रसिद्ध कलाकार अरनिको १३औं शताब्दीमा ८० जना कलाकारसहित चीन गएका थिए । उनले चीनमा बनाएका कलाले नेपालको कलाको वैभवशाली इतिहास र मौलिकतालाई अहिलेसम्म पनि चिनाइराखेको छ ।

    नेपालको भौगोलिक  बनावट नै एउटा विशाल क्यानभास  जस्तो देखिन्छ । हिमाल, पहाड, तराई–मधेसको विविधता र त्यसमा रहेका प्राकृतिक, सांस्कृतिक तथा सामाजिक पक्षको सुन्दर संयोजन आफैमा निकै आकर्षक र कलात्मक छ । हिमालबाट अनवरत बग्ने नदीहरु, हिमताल, वनजङ्गल, सिमसार, तालतलैया, पहाड, फाँट र समथल भूमि आदिको विविधता युक्त सुन्दरभूमि नेपाल ललितकलाको क्षेत्रमा पनि बहुआयाम र मौलिकताले परिचित छ । सांस्कृतिक एवं पुरातात्विक सम्पदाले भरिपूर्ण लुम्बिनी, स्वयम्भुनाथ, पशुपतिनाथ, चाँगुनारायण, हनुमानढोका दरवार, भक्तपुर दरवार, पाटन दरवार आदि । प्राकृतिक, सांस्कृतिक र ऐेतिहासिक रुपमा प्राकृतिक क्यानभासको रुपमा रहेका यस्ता सुन्दरतम सम्पदालाई कलाको माध्यमबाट संरक्षण संवर्धन, प्रवद्र्धनका साथ–साथै विश्वभरि चिनाउन ललितकला क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।

    नेपालको सबैभन्दा ठुलो प्रशासनिक भवन सिंहदरवार, फ्रान्सको भर्सेलिजको दरवारको अनुकरण गरी बनाइएको हो । नेपालका मन्दिर, चैत्य स्तुपा आदि कलात्मक तरिकाले बनाइएका छन् । हाल काठमाडौं महानगरपालिका र नेपाल ललितकला प्रतिष्ठानको सहकार्यमा काठमाडौंका सडक छेउका भित्ताहरुमा समेत सामाजिक, सांस्कृतिक र धार्मिक झझल्को आउने गरी भित्तेचित्र कोरिएको छ । खुला सङ्ग्रहालयको रुपमा रहेको काठमाडौंलाई कलामय बनाएको छ । यसैबाट प्रमाणित हुन्छ कलाको गरिमा र महिमा कति छ भनेर ।

    नेपालमा वर्तमानमा कलाको संरक्षण, संवर्धन, प्रवर्धन र खोज–अनुसन्धानको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत स्वायत्त संस्थाको रुपमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान रहेको छ । जसले देशभरि छरिएर रहेका ललितकलाको खोजी, संरक्षण, प्रवर्धन गर्दै कलाको सम्मान र उत्थान गर्न केन्द्रित छ । विगतमा राजधानी केन्द्रित रहेको प्रतिष्ठान हाल प्रदेश तथा स्थानीय तहसम्म पुग्ने जमर्को गरिरहेको छ ।

    नेपालको संविधानमै ललितकला क्षेत्र समेटिएको छ । यसलाई सङ्घीयताको मर्मअनुरुप विकेन्द्रित गर्ने कार्यसमेत भएको छ । यही संविधानको जग र सङ्घीयताको आडमा राज्यका सातैवटा प्रदेशका आ–आफ्नै भौगोलिक, सामाजिक, सांस्कृतिक विशेषता बोकेका कलाकृतिको प्रादेशिक प्रदर्शनीको सुरुवात् गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रदेशमा रहेका ललितकलाको पहिचानसहित तिनलाई राष्ट्रिय स्तरमा चिनाउने र प्रवर्धन गर्ने लक्ष्यका साथ प्रदर्शनीको आयोजना गरेको हो ।  यस कार्यले सीमान्तमा परेको कलालाई राष्ट्रिय पहिचान दिलाउन मद्दत मिलेको छ । साथै नेपाली ललितकलाको बहुआयामलाई नजिकबाट नियाल्न र सामाजिक रुपान्तरणमा जोड्न समेत सहयोग पुगेको देखिन्छ । पिछडिएको समुदाय, वर्ग, क्षेत्र तथा कला विधालाई प्रादेशिक प्रदर्शनीमार्फत राष्ट्रको मूलधारमा आउने ढोका खुलेको छ । यसमा प्रतिष्ठानको अभिभावकीय भूमिका रहेको छ ।

    गतवर्षबाट थालिएको प्रादेशिक प्रदर्शनीमा एक हजारभन्दा बढी कलाकार देशभरबाट सहभागी भएको प्रतिष्ठानले जनाएको छ । विगतमा ३–४ सयको हाराहारीमा राष्ट्रिय ललितकला प्रदर्शनीमा कलाकार सहभागी हुने अवस्थाबाट फड्को मारिएको अवस्था हो । यसले लोपोन्मुख नेपालका रैथाने कलालाई समेत पहिचान दिलाउँदै सामाजिक रुपान्तरणको जोड्न प्रयास भइरहेको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जनाएका छन् । उनले नेपाली समाजमा विकसित कलाको पहिचानसँगै पहुँच निर्माण गर्न प्रतिष्ठानले पहल गरिरहेको जिकिर गरे ।

    कुलपति हार्तम्छालीले प्रादेशिक प्रदर्शनीले देशको कलाको विविधतालाई एक ठाउँमा जोड्न सफल भएको बताए । प्रादेशिक प्रदर्शनीमा छानिएका कलाकृति समेटेर राष्ट्रिय प्रर्शनीमा गरिनुका साथै पुरस्कृतसमेत गरिने प्रतिष्ठानले जनाएको छ ।

    फागुन ४ गतेदेखि गण्डकी प्रदेशबाट प्रारम्भ भएको प्रादेशिक प्रदर्शनी ६ गते कर्णाली, ८ गते सुदूरपश्चिम, १० गते लुम्बिनी, १६ गते कोसी, २० गते मधेस तथा २६ देखि १ चैतसम्म बागमतीमा भएको थियो । यी प्रदेशमा त्यहाँ रहेका वा प्रचलित कला र तिनका विभिन्न विधाको प्रदर्शनी भएको थियो । जसमा शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, समसामयिक÷परम्परागत मूर्तिकला एवं चित्रकला र बहुआयामिक तथा अन्य सिर्जनात्मक कला समावेश भएका थिए ।

    यस्तै, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राउटे सुमदायमा प्रचलित हस्तकलाको जीवन्त प्रदर्शनी भएको थियो । सो प्रदर्शनीमा पहिलो पटक उनीहरुले सहभागिता जनाएका थिए । २०७८ सालको जनगणनानुसार जम्मा ५६६ जनामात्र रहेका राउटे प्रादेशिक प्रदर्शनीमा सहभागी भएर आफ्नो पहिचानलाई स्थापित गर्न सफल भए । यसरी ललितकला क्षेत्रमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशका दूरदराजमा रहेका लोपोन्मुख अति सीमान्तकृत, सुविधाबाट बञ्चित वर्ग र समुदायका कलालाई समावेश गरेर सङ्घीयताको मर्म र गरिमालाई स्थापित गर्न अग्रसर छ ।

    सातै प्रदेशमा भएका प्रदर्शनीमार्फत थारु, मिथिला, अवधी, नेवार, तामाङ, हिमाली, पर्वते, मगर लगायतका समुदायका कलाले नेपालको विविधतायुक्त परिवेशलाई उठान गर्न सफल भएको देखिन्छ । प्रदर्शनीमा प्रदर्शित आधुनिक÷समसामयिक कलामा नेपाली समाजका विभिन्न पक्ष र परिवेशलाई कलात्मक रुपमा उनिएको छ । नारीका सामाजिक, सांस्कृतिक तथा राजनैतिक विषयले समेत स्थान पाएका छन् । उत्पीडनदेखि स्वान्तः सुखायका विषयले मानव जीवन र जगत्का विविध पाटालाई सिर्जनात्मक भावाव्यक्तिमार्फत कलाकारले प्रस्तुत गरेका छन् ।

    प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रदर्शनीले नेपाली समाजमा विकास भएका विविध संस्कृति र सभ्यतालाई चिन्न र बुझ्न सकिएको बताए । उनले लोपोन्मुख नेपालका विभिन्न ललितकलाका आयामलाई प्रवर्धनसँगै संरक्षणका लागि आधार तयार भएको धारणा व्यक्त गरे । उनले प्रदर्शनीमार्फत कलाको अभिलेखीकरणमा समेत योगदान पुगेको जिकिर गरे ।

    समग्रमा हेर्दा प्रादेशिक ललितकला प्रदर्शनीले देशको मौलिक कलाको जर्गेना गर्ने, नवप्रवर्तनलाई प्रवर्धन गर्ने, सामाजिक रुपान्तरणमा कलालाई जोड्ने, आर्थिक उन्नतिमा लैजान अभिप्रेरित गर्नुका साथै रोजगारीमा योगदान दिने आधार बनाउने देखिन्छ । यो अभियानमार्फत पहिचानको खोजी, संस्कृति र सभ्यतालाई जीवन्त बनाउने, राष्ट्रिय भावनालाई जोड्ने कार्यमा प्रतिष्ठान अग्रसर भएको देखिन्छ । यो अभियानले बनाउने मार्गले नेपाललाई ललितकलामार्फत पनि स्वालम्ब बन्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेको छ ।

    राज्यले ललितकलामार्फत राष्ट्रिय अर्थतन्त्रमा अरबौको योगदान दिन सक्ने गरी नीति बनाउन जरुरी छ । नीतिगत समस्या, कतिपय समुदायका कलाको पहिचान भइनसक्नु, पर्यटनसँग जोड्न उदासिन रहनु, कलाको बजारीकरणमा ध्यान दिन नसक्नु कमजोरीको रुपमा रहेको छ ।

    राज्यले राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनका लागि र लाखौं मानिसलाई रोजगारीमा जोड्न पनि नेपालको हस्तकलाको क्षेत्रलाई बलियो बनाउने नीति अख्तियार गर्न जरुरी छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पनि खोज अनुसन्धान, कला र कलाकारको सर्वेक्षण, कलाको पहिचान र तिनको सबलीकरणका लागि विद्यालयदेखि विश्वविद्यालयसम्म पाठ्यक्रम बनाउन पहल गर्ने, गोष्ठी, अन्तक्र्रिया, प्रशिक्षण, तालिम, कार्यशाला तथा प्रदर्शनीको व्यवस्थित वातावरण बनाउने लगायतका कार्य गर्नु पर्दछ । प्रदेश प्रदर्शनीले ढोका खोलेको छ, यसलाई नवप्रर्वतनसँग जोडेर सामाजिक रुपान्तरणसँगै अर्थतन्त्रमा जोड्ने अभियानलाई सरकार र प्रतिष्ठानले काम गर्नु पर्दछ ।

    कलाले देशको मौलिकता, ऐतिहासिकता, संस्कृति, सभ्यता आदिलाई प्रतिविम्बित गर्ने भएकाले यसलाई कलाकारको आर्थिक सुरक्षासँग जोडेर अगाडि बढ्ने नीति तथा योजना तय गर्नु पर्दछ । ललितकलालाई अर्थतन्त्रको एउटा बलियो हिस्साका रुपमा विकास गर्दै अगाडि बढ्नुको हामीसँग विकल्प छैन ।