वुमन्स डे कपमा नेपालले हङकङलाई ६ विकेटले हरायो - Chaitanya News
  • 2026-07-26
  • 00:23:43
  • शनिबार,साउन ०९, २०८३
  • वुमन्स डे कपमा नेपालले हङकङलाई ६ विकेटले हरायो

    वुमन्स डे कपमा नेपालले हङकङलाई ६ विकेटले हरायो

    काठमाडौं– युगाण्डामा जारी चार देश सम्मिलित आज (शुक्रबार) भएको वुमन्स डे कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको छ।

    हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन्। पुजा महतो २० रनमा अविजित रहँदा इन्दु बर्माले १८ रन बनाइन्। हङकङका मेहक दिप र लाइ विनले १–१ विकेट लिए।

    त्यसअघि एन्टेबे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको थियो। कुनै समय १३० रनको हाराहारीमा योगफल पुग्ने देखिएपनि अन्तिम ४ ओभरमा हङकङले ८ रन मात्र जोड्यो।

    हङकङका लागि शान्जिन शाहजादले अर्धशतकीय पारी खेलिन्। प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गर्ने क्रममा उनले ४७ बलमा ५४ रन बनाइन्। त्यस्तै चान का यिङले १६ तथा यास्मिन दस्वानीले १४ रन बनाइन्।

    नेपालका लागि राजमती ऐरीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिइन्। कप्तान इन्दु बर्माले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन्। पुजा महतो र ईश्‍वरी विष्टले १–१ विकेट लिए।

    समूह चरणका ६ मध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ। नेपाल समूहमा चौथो हुने पनि निश्चित भइसकेको छ।

    नेपालको ६ खेलमा ४ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ। आजको दोस्रो खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ।

    शीर्ष २ टोलीले फाइनल खेल्दा समूहमा तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्।

    पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो।