प्रधानमन्त्री ओलीको मन्त्रीलाई निर्देशन: गरिबी हटाउने गरि काम गर्नुस् - Chaitanya News
  • 2026-11-17
  • 08:57:02
  • मंगलबार,मंसिर ०२, २०८३
  • प्रधानमन्त्री ओलीको मन्त्रीलाई निर्देशन: गरिबी हटाउने गरि काम गर्नुस्

    प्रधानमन्त्री ओलीको मन्त्रीलाई निर्देशन: गरिबी हटाउने गरि काम गर्नुस्

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरिवी र पछौटेपन बदल्ने गरी काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

    प्रधानमन्त्री ओलीले विकसित हुने पर्याप्त सम्भावना हुँदाहुँदै पनि गरिवी र पछौटेपनको चपेटामा परेको मुलुकलाई अघि बढाउन सरकारले आवश्यक नीति तथा कार्ययोजना तय गरेको पनि स्पष्ट पारे। बुधबार सिंहदरबारस्थित आफ्नै कार्यालयमा मन्त्रीहरुसँग चालू आर्थिक वर्षको कार्य योजनामा सम्झौंता गरेपछि उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा हुने गरी सरकारले विकास निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न पनि सबै मन्त्रीहरुलाई सचेत गराए। प्रधानमन्त्री ओलीले जनताको सेवा, सुविधालाई ध्यानमा राखेर सरकार अघि बढेको दावी गर्दै त्यस अभियानलाई अझै प्रभावकारी बनाउन पनि सबै मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराए। उनले विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउने गरी जनताले बहुमतको सरकार बनाएको स्मरण गर्दै सोही अनुकूलतालाई ध्यानमा राखेर विकास, निर्माणको काममा तीव्रता दिनुपर्ने आवश्यक्ता पनि औंल्याए।

    उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारण गर्न सकिने उनको भनाइ छ।

    पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठूला उत्पादन र लगानी वृद्धि गर्न उनले आग्रह गरे।

    हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ। सहयोग गरेर मात्रै हुँदैन। उत्पादन र आत्मनिर्भरता बढाउने बाटोमा जानुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ। गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ।

    उनले मन्त्रालयहरूलाई उत्पादन र उत्पादकत्व बढाउने ठोस योजना ल्याउन पनि सुझाव दिए। ‘उत्पादकत्व बढेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न थाल्छ,’ उनले भने। राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन(मूल्यांकन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवं सुशासनमा सकारात्मक प्रभाव पर्ने कार्यमा लाग्न पनि उनले आग्रह गरे।

    आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले १६औँ योजनाको कार्यान्वयन, यसका चुनौतीहरू, राष्ट्रिय आयोजना बैँकको नयाँ मापदण्ड र परिमार्जन, अधुरा योजनमाथिको व्यवस्थित विश्लेषण, परियोजना विश्लेषणको नयाँ मापदण्ड, समपूरक र विशेष अनुदानको कार्यविधिमा संशोधन आदि विषयमा अवगत गराएका थिए।

    उनले परिमार्जित मापदण्डबारे प्रदेश र स्थानीय तहसँग पनि अन्तरक्रिया गरिएको जनाउँदै वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई स्रोत साधन सम्पन्न बनाउनुपर्नेमा जोड दिए।

    छलफलमा प्रधानमन्त्रीका आर्थिक तथा विकास मामिला सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए

    कार्यक्रममा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षको विस्तृत कार्ययोजना प्रधानमन्त्री ओली समक्ष पेश गरेको थियो।
    ।