काठमाडौँ– सरकारले विभिन्न मितिमा ल्याएका ५ अध्यादेश प्रतिनिधिसभाको बैठकमा प्रतिस्थापन विधेयकका रूपमा प्रस्तुत गरेको छ । आज (बुधबार) सरकारले विभिन्न मितिमा ल्याएका ५ अध्यादेश प्रतिनिधिसभाको बैठकमा प्रतिस्थापन विधेयकका रूपमा प्रस्तुत गरेको हो।
आजको बैठकमा तीन विधेयक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले, एक विधेयक प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले र अर्को विधेयक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेका हुन्।
अर्थमन्त्री पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरे।
प्रधानमन्त्री ओलीको तर्फबाट सञ्चारमन्त्री गुरुङले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरे। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरे।
गत माघ १८ गते संघीय संसद् सचिवालयमा यी विधेयक अध्यादेशका रूपमा दर्ता भएका थिए।