काठमाडौँ– आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्ने र सचेत रहनुपर्ने बताएका छन्। जनताको असन्तुष्टिलाई केही पनि होइन भन्ने अहंकार कसैले राख्न नहुने बताए।
जनता असन्तुष्ट छन्। त्यो असन्तुष्टिभित्र आक्रोश छ। यसलाई नजरअन्दाज गर्न हुँदैन,’ उनले भने, ‘यहाँ केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार हामीले राख्न हुँदैन। जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्छ र सचेत रहनुपर्छ।
सांसद थापाले २०६२र०६३ को जनआन्दोलनमा साथ दिएको नागरिक पंक्ति पनि यतिबेला असन्तुष्ट रहेकोले संवाद गर्नु पर्ने सुझाए।
‘त्यो नागरिकको पंक्ति जो हिजोको २०६२–०६३ को जनआन्दोलनमा हामीसँग उभियो। जसले त्यत्रो परिवर्तनमा हामीलाई साथ दियो। जो आज रिसाएको छ, जो आज असन्तुष्ट छ। जो आज आक्रोशित छ। उनको कुरा सुन्नुपर्छ। उनीहरूसँग संवाद गर्नुपर्छ,’ उनले भने।