काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एव् पूर्वपधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एक पटक क्रान्तिकारीहरूको काँधमा आएको बताएका छन्।आज (मंगलबार) पार्टीको सहायक संगठन वाईसीएल नेपालको बैठक उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
यस्तै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै ‘प्रचण्ड’ले जनताले अस्वीकार गरेका र वैधानिक रूपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वाभाविक नहुने उल्लेख गरे। त्यस्ता प्रयासका विरुद्ध अझ बढी संगठित हुन युवाहरूलाई आह्वान गरेका हुन्।
अहिलेको सरकारले गरिरहेको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीहरुले आफूलाई स्पेस पाएको महसुस गर्न थालेको टिप्पणी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले यसलाई क्रान्तिकारीहरूले क्रान्ति पूरा गर्ने अवसरको रूपमा लिनुपर्ने बताए।