सुदूरपश्चिम प्रदेशसभामा तेस्रो ठूलो दल माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दलको भएकाले प्रदेश सभा र सरकारलाई निगरानी गर्ने सवालमा खरो उत्रिनु पर्ने हो। तर त्यही प्रमुख प्रतिपक्षी दल एक वर्षयता आन्तरिक किचलोमा फसिरहेको थियो।
दुई वटा समूहमा विभाजित रहेको माओवादी केन्द्रको संसदीय दललाई एक ढिक्का बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक लिखित र मौखिक निर्देशन जारी गर्दा पनि कार्यान्वयन हुन सकेको थिएन्। उल्टै विवाद झन्झन् गहिरिँदै गएको थियो।
०८० माघ १२ गते। त्यसबेला संसदीय दलको नेता थिए खगराज भट्ट । पार्टी पनि सरकारमा थियो। सभामुखबाहेक १० जना सांसद रहेको माओवादी केन्द्रका ६ जना सांसदले बहुमतका आधारमा भट्टलाई हटाउने निर्णय गर्दै अर्का नेता मानबहादुर धामीलाई दलको नेता बनाएपछि माओवादी संसदीय दल दुई चिरामा खण्डित भएको थियो।
यसैबिच दलभित्र उत्पन्न विवाद समाधान गर्ने प्रयास स्वरूप हिजो (आइतबार ) प्रदेश सभा सदस्यहरूले पहिलोपटक सामूहिक छलफल गरेका छन्। संसदीय दलको कार्यालयमा बसेको छलफलमा खगराज भट्टसहितका सबै प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पटक–पटकको निर्देशनपछि दलका नेता मानबहादुर धामीको आह्वानमा सांसदहरू छलफलका लागि जुटेका हुन्। प्रदेश सभा सदस्य रमेश धामीबाहेक सबै सांसदहरूको सहभागिता रहेको छलफलमा दलभित्र देखिएको विवाद समाधान गर्ने विषयमा कुराकानी भएको थियो।
छलफलमा सहमतिमै विवाद हल गर्ने सहमति जुटेको छ। पहिलोपटक छलफलको सुरुवात भएको छ। अब औपचारिक र अनौपचारिक रूपमा निरन्तर संवाद गर्दै समस्याको समाधान निकाल्ने प्रयास हुनेछ, एक सांसदले भने ।
गत १२ माघ २०८० मा बहुमत प्रदेश सभा सदस्यले खगराज भट्टलाई दलको नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेका थिए। तर, पार्टी केन्द्रले भट्टलाई नै दलको नेता बनाउने निर्देशन दिए पनि बहुमत प्रदेश सभा सदस्यहरूले उक्त निर्देशन मान्न अस्वीकार गर्दै आएका थिए।
१४ फागुनमा सुदूरपश्चिमका सबै प्रदेश सभा सदस्यलाई खुमलटार बोलाएर छलफल गरेका अध्यक्ष प्रचण्डले पुनः भट्टलाई नै दलको नेता बनाउन निर्देशन दिएका थिए। त्यसयता पहिलोपटक प्रदेश सभा सदस्यहरू सामूहिक छलफलमा बसेका हुन्।
आइतबारको छलफलपछि लामो समयदेखिको संवादहीनताको अवस्था अन्त्य भएको नेताहरूले बताएका छन्।