पूर्वराजा ज्ञानेन्द्रलाई नहौसिन गृहमन्त्री लेखकको चेतावनी - Chaitanya News
  • 2026-05-15
  • 15:45:37
  • शुक्रबार,जेठ ०१, २०८३
  • पूर्वराजा ज्ञानेन्द्रलाई नहौसिन गृहमन्त्री लेखकको चेतावनी

    पूर्वराजा ज्ञानेन्द्रलाई नहौसिन गृहमन्त्री लेखकको चेतावनी

    सुर्खेत– गृहमन्त्री रमेश लेखकले पूर्वराज ज्ञानेन्द्र शाहलाई राजतन्त्र आउँछ भन्ने भ्रमबाट नहौसिन चेतावनी दिएका छन्। आज (आइतबार) बिहान सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन चेतावनी दिएका हुन्।

    ‘केही मानिसहरूले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन् । त्यो भ्रमले पूर्वराजा हौसिन आवश्यक छैन’, गृहमन्त्री लेखकले भने । जनताले आन्दोलन र क्रान्तिबाट फालिसकेको राजालाई पुनः फर्काउँछन् भन्ने भ्रम नपाल्न उनले पूर्वराजलाई आग्रह गरे।

    उनले आन्दोलन र क्रान्तिबाट फालिएका राजसंस्थाका राजाहरू उसै देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास कमै भएको भन्दै नेपाली जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन आग्रहसमेत गरे । ‘हाम्रो लोकतन्त्र यति उदास छ कि जनताले फालेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता उपभोग गरेर बसिरहेका छन्’, उनले भने ।

    गृहमन्त्री लेखकले यसलाई लोकतन्त्रको कमजोरीका रूपमा नलिन समेत पूर्वराजालाई चेतावनी दिए । ‘हाम्रो लोकतन्त्र यति संयमित, यति उदार, यति परिष्कृत छ कि जनताले फालिसकेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गरेर बसिराखेका छन्। यसलाई लोकतन्त्रको कमजोरीका रूपमा कसैले पनि नलियोस्’, उनले भने।