च्याम्पियन्स ट्रफी क्रिकेट: पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलियाभिड्दै - Chaitanya News
  • 2026-06-06
  • 02:35:05
  • शुक्रबार,जेठ २२, २०८३
  • च्याम्पियन्स ट्रफी क्रिकेट: पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलियाभिड्दै

    च्याम्पियन्स ट्रफी क्रिकेट: पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलियाभिड्दै

    काठमाडौं– जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल खेलमा आज फाइनल प्रवेशका लागि दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र अस्ट्रेलिया भिड्ने भएको छ। । भारत पाकिस्तानमा खेल्न नगएकाले भारत संलग्न यस सेमिफाइनल खेल दुबईमा हुनेछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ।

    भारत समूह ए को विजेता तथा अस्ट्रेलिया समूह बी को उपविजेताका रूपमा सेमिफाइनल खेल्न लागेका हुन्। दुवै टोली यस प्रतियोगितामा अपराजित छन्, अस्ट्रेलियाको दुई खेल भने नतिजाविहीन थियो।

    भारतले समूह चरणमा बंगलादेश, पाकिस्तान र न्युजिल्याण्डलाई हराएको थियो। अस्ट्रेलियाले पहिलो खेलमा इंग्ल्याण्डमाथि शानदार जित निकाल्दा त्यसपछिका दुई खेल नतिजाविहीन भएको थियो।

    भारतले हालसम्मका तीनवटै खेल सोही मैदानमा खेलेको छ। त्यसकारण भारतलाई कन्डिशन राम्रोसँग थाहा छ। अस्ट्रेलियासँग मुख्य अनुभवी पेस बलर नहुँदा बलिङ केही कमजोर देखिएपनि आईसीसीका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सक्षम टिम हो।

    यी दुई टोली पछिल्लोपटक सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा भेटेका थिए। उक्त खेलमा १ लाखभन्दा बढी दर्शकलाई भारतकै रंगशालामा स्तब्ध बनाउँदै अस्ट्रेलियाले छैटौंपटक विश्वकपको उपाधि जितेको थियो।

    भारत उक्त हारको बदला लिँदै उपाधिको एक कदम नजिक पुग्न चाहनेछ भने अस्ट्रेलिया जस्तो टिम लिएर खेलेको भएपनि आईसीसीका प्रतियोगितामा आफ्नो दबदबा कायमै राख्न चाहनेछ।