गुरुजी मंगलदास महाराजको जीवन दर्शन मानवता, अहिंसा र सामाजिक न्यायको मार्ग - Chaitanya News
  • 2026-05-01
  • 03:24:10
  • बिहिबार,बैशाख १७, २०८३
  • गुरुजी मंगलदास महाराजको जीवन दर्शन मानवता, अहिंसा र सामाजिक न्यायको मार्ग

    गुरुजी मंगलदास महाराजको जीवन दर्शन मानवता, अहिंसा र सामाजिक न्यायको मार्ग

    तोमनाथ उप्रेती
    यस धर्तीमा समय समयमा प्रेम ,मानव कल्याण, अहिंसा र न्यायका प्रतिमुर्तिहरु जन्मने गर्दछन् । यसै क्रममा गुरुजी श्री मंगलदास महाराजको जन्म वि।सं १९५३ आश्विन शुक्ल द्वादशीका दिनमा पुर्वी नेपालको इलाम जिल्ला अन्तर्गतको मेहेलबोटे भन्ने स्थानमा भएको थियो । उहाँका पिताको नाम कल्याणदास सापकोटा र माताको नाम नर्वदा थियो । गुरुजीको उमेर डेढ वर्षको भएपछि कल्याणदासजी नेपालबाट बसाइँ सरेर सपरिवार आसामपुग्नुभयो। त्यहाँ गुरु पीताम्बरदासजीसँग साक्षत्कार भयो। त्यसपछि आसाम रांशालीमागुरुजी सपरिवार निजानन्द धर्ममा दीक्षित हुनुभयो ।
    मंगलदासजीको उमेर पाँच वर्षको भएपछि पिताजीले उहाँलाई अक्षरारम्भ गराउनुभयो । पिता पुत्रको मिलन धेरै कालतक रहन पाएन । वि.सं. १९५८ मै पिता कल्याणदासको धामगमन भयो । परिवारमा ठूलो आघात पर्यो। दयनीय अवस्थामा केही वर्ष बिते। उहाँको परिवार रांशालीबाट तेजपुर आयो । त्यहाँबाट महात्मा श्री रंगीदाससँगै मंगलदासजीको परिवार पन्ना धाम पुग्यो। करीब १२ वर्षको उमेर भएपछि गुरुजीको खोजमा मंगलदासजी महामंगलपुरी धाम सूरत जानुभयो । त्यहाँ गुरु पीताम्बरदासजीलाई भेट्न पाउँदा अत्यन्त खुसी हुनुभयो । सुरुमा उहाँले गुरुसँग वाणीको तालिम लिनुभयो ।केही समयपछि मंगलदासजी सूरतबाट जामनगर पुग्नुभयो । त्यहाँ पुगेर गादीपति श्री सुखलाल महाराजको छत्रछायामा रही तारतमसागरको वृहत तालिम लिनुभयो । ६ महिनापछि उहाँ पद्मावती पुरी, पन्नामा फर्किनुभयो । त्यहाँ रहँदा गुरु पीताम्बरदासको पत्र आयो । उहाँ बीतकको पाठ छोडेर सूरत जानुभयो । सूरत पुग्दा गुरुजी धाम गइसक्नु भएको पाउनुभयो । हृदयमा दुःख भयो। गुरुजीको सम्झनामा अखण्ड पारायण गर्नुभयो । सूरतका गादीपति पीताम्बरदास महाराजको धाम गमनपछि श्री रंगीदास महाराजलाई सूरतका गादीपति बनाइयो ।
    सूरतका गादीपति पीताम्बरदास महाराजको धाम गमनपछि माताजीसँगै ब्रह्मचारी मंगलदास मातृ भूमि नेपालमा फर्किएर मानव कल्याणमा लाग्नु भयो । केही समय नेपालमा रहेर कालिम्पोङ् इच्छे वस्तीमा माताजी राजबाईलाई भेट्न जानुभयो । पुनः सूरत फर्केर गणदेवी, वलसाड, अंबाला, बहावलनगर, नागौर आदि नगरका प्रणामी मन्दिरमा पुजारीको रूपमा रहनुभयो । पछि मेरतामा पुगेर वि.सं. १७३१ देखि रेखदेख नगरिएको मन्दिरको जीर्णोद्धार गर्नुभयो । त्यहाँबाट गुरुजी बनारस र चारै धामको पैदल यात्रा गर्दै हरिद्वार पुगेर गंगा किनारमा दिगम्बर भेशमा रहनुभयो । त्यहाँ रहँदा उहाँलाई भारतको पूर्वोत्तर दिशामा गएर जागनी गराउने प्रेरणा मिल्यो । हरिद्वारमै उहाँकी माताजीसँग भेट भयो । त्यहाँबाट दुवैजना पन्ना धाम जानुभयो । पन्नाबाट नेपाल हुँदै उहाँहरू कालिम्पोङको इच्छे वस्ती पुग्नु भयो र कृष्ण प्रणामी मन्दिर सम्हाल्नु भयो ।वि।सं। २०२२ मा गुरुजीले सिलिगुडीमा श्री कृष्ण प्रणामी मन्दिर निर्माण गराउनु भयो। सिलिगुडी मन्दिरमा स्वस्थानी पूर्णिमाको दिनमा वार्षिक मेला गर्ने परम्परा रह्यो । उहाँले अनाथ आश्रमको सुरुवात गराउनु भयो । वि.सं.२०२५ मा गुरुजीले धर्म प्रचार गर्न पूर्वी नेपालका धुलावारी, बुधबारे, शनिश्चरे, दुवागढी आदिको भ्रमण गर्नुभयो ।गुरुजीका हजारौं शिष्य भए । तिनमा पं। हिमकर शास्त्री, पं, भवानी शंकर सापकोटा, पं। सूर्यभक्त सापकोट, श्री माणिकदास, श्री राजदास, श्री राधिकादास, श्री सदानन्द महाराज, श्री टहल किशोर, श्री मोहन प्रियाचार्य, डा। तिलक चैतन्य आदि प्रमुख प्रचारकका रूपमा प्रतिष्ठित हुनुभयो । त्यस्तै उहाँले अनेकौं महिला प्रचारिका तैयार गराउनुभयो । तिनमा माताजी प्रभावती बाई, गुरुमा वसन्त प्रभा, माताजी सरस्वती बाई, गीता बाई, सेवा बाई, भीमा बाई, शान्ति सिंह, तारा घिमिरे, मीरा बाई, शकुन्तला बाई, कृष्णा बाई, लक्ष्मी बाई आदि महिला प्रचारिका तयार हुनुभयो ।
    गुरुजी मंगलदासजीको जन्म एक साधारण परिवारमा भएको थियो। उहाँको बाल्यकालदेखि नै आध्यात्मिकता प्रति गहिरो रुचि थियो। उहाँले आफ्नो गाउँका धार्मिक गुरुहरूको शिक्षाबाट प्रेरणा लिएर आध्यात्मिक यात्रामा लाग्ने निर्णय गर्नुभयो। बाल्यकालमा नै उहाँले ध्यान र प्रार्थना गर्न थाल्नुभयो, जसले उहाँको जीवनको दिशा निर्धारण गर्यो।एक दिन, उहाँले एकान्तमा ध्यान गर्दै गर्दा गहिरो अनुभव गर्नु भयो। यस अनुभवले उहाँलाई आत्मज्ञानको मार्गमा अघि बढ्न प्रेरित गर्यो। उहाँले जीवनको साँचो अर्थ सेवा र करुणामा छ भन्ने कुरामा जोड दिनु भयो । यसबाट उहाँको जीवनमा ठूलो परिवर्तन आयो र उहाँले साधना र ज्ञानको खोजीलाई प्राथमिकता दिन थाले।
    गुरुजीले आफ्नो आध्यात्मिक यात्रा मात्र नभई समाजको सेवा गर्ने लक्ष्य पनि राख्नु भएको थियो। उहाँले गरीब र अशिक्षित मानिसहरूको मद्दत गर्न थाले। उहाँले विद्यालय र धार्मिक आश्रमहरूको स्थापना गरेर शिक्षाको प्रचार गर्नुभएको थियो। उहाँका यस्ता प्रयासहरूले समाजमा ठूलो परिवर्तन ल्याए।गुरुजी मंगलदासजीको शिक्षामा करुणा र प्रेमको सन्देश प्रमुख थियो। उहाँले मानिसहरूलाई एक अर्काप्रति स्नेह र सहिष्णुता राख्न प्रोत्साहित गर्नुहुन्थ्यो। एकपटक, उहाँले अनुयायीहरूको लागि विशेष प्रार्थना सभा आयोजना गर्नुभयो, जहाँ उहाँले सबैलाई एकसाथ माया र सम्मान गर्न भन्नुभयो।
    गुरुजीले जीवनमा धेरै कठिनाइहरूको सामना गर्नुभयो। उहाँले भोगेको संघर्षले उहाँलाई थप सशक्त बनायो। जब उहाँको स्वास्थ्यमा समस्या आयो, तब उहाँले ध्यान र प्रार्थनालाई निरन्तरता दिनुभयो। उहाँले आफूमाथि विश्वास राख्न र सकारात्मक सोच राख्न महत्त्वपूर्ण मान्नुभयो। उहाँको धैर्य र समर्पणले उहाँलाई चाँडै निको हुन मद्दत गर्यो। गुरुजीले धेरै शिष्यहरूलाई शिक्षित र प्रेरित गरे। उहाँले प्रत्येक शिष्यलाई व्यक्तिगत रूपमा मार्गदर्शन गर्नुभयो, तिनीहरूको क्षमता र विशेषताहरूलाई उजागर गर्दै। शिष्यहरूको सफलता र विकास देखेर उहाँ सधैं गर्व र खुशी अनुभव गर्नुहुन्थ्यो।
    गुरुजीको जीवनको अन्तिम चरणमा उहाँले प्रेम र करुणाको अनन्त सन्देश फैलाउने कार्यलाई जारी राख्नुभयो। उहाँले सधैं भनेको कुरा थियो, “साँचो प्रेम कहिल्यै समाप्त हुँदैन। यो केवल दिनको उज्यालो जस्तै, जसले सबैलाई प्रेरित गर्दछ।“उहाँले आध्यात्मिक शिक्षालाई व्यापक रूपमा फैलाउन र यसलाई सबैका लागि पहुँचयोग्य बनाउन चाहनुहुन्थ्यो। शिक्षाको माध्यमबाट मानिसहरूलाई साँचो ज्ञान प्राप्त गराउन र आन्तरिक शान्ति पाउन मद्दत गर्ने लक्ष्य राख्नुभयो। उहाँले विभिन्न संस्कृतिहरू र परम्पराहरूलाई सम्मान गर्ने महत्त्वलाई जोड दिनुहुन्थ्यो। धार्मिकता र संस्कृतिका बीचमा सहिष्णुता र संवादलाई प्रवर्द्धन गर्नको लागि उहाँले प्रयास गर्नुभयो।खगुरुजीले शिक्षा र ज्ञानलाई समाजको विकासका लागि अत्यावश्यक मान्नुभयो। उहाँले मानिसहरूलाई शिक्षा र जागरूकता मार्फत आफ्नो जीवनस्तर सुधार्नका लागि प्रेरित गर्न चाहनुहुन्थ्यो।
    ध्यान र साधनालाई जीवनको महत्वपूर्ण अंगको रूपमा प्रस्तुत गर्दै, उहाँले मानिसहरूलाई नियमित रूपमा ध्यान गर्न र आत्म–समर्पण गर्न प्रोत्साहित गर्नुभयो। यसले व्यक्तिलाई आन्तरिक शान्ति र स्पष्टता दिन्छ।गुरुजीले सकारात्मक सोच र दृष्टिकोणको महत्त्वमा जोड दिनुहुन्थ्यो। उहाँका अनुसार, सकारात्मक मानसिकता राख्नु जीवनका चुनौतीहरूलाई सामना गर्न र गुरुजीले समाजमा समान अवसरको महत्त्वलाई जोड दिनुहुन्थ्यो। उहाँले हरेक व्यक्तिलाई विकास र उन्नतिको अवसर दिनुपर्छ भन्ने कुरामा विश्वास राख्नुहुन्थ्यो, जुन सबैका लागि लाभदायक हुनेछ । उहाँले विभिन्न धर्म, जाति, र सांस्कृतिक पृष्ठभूमिका व्यक्तिहरूबीच एकता र सहिष्णुता प्रवर्द्धन गर्नका लागि काम गर्नुभयो। विविधताको सम्मान गरेर मानवताको एकता सुनिश्चित गर्ने लक्ष्य राख्नुभयो।
    गुरुजीले आध्यात्मिक नेतृत्वको आवश्यकता र यसको भूमिका बारेमा विचार प्रस्तुत गर्नुभयो। उहाँले युवाहरूलाई नेतृत्वमा प्रेरित गर्दै, समाजको उत्थानका लागि आध्यात्मिक मूल्यहरूको आधारमा काम गर्न आग्रह गर्नुभयो।उहाँले जीवनमा उद्देश्यको महत्त्वलाई समृद्धि र खुशीको आधार मान्नुहुन्थ्यो। मानिसहरूले आफ्नो जीवनको उद्देश्य पहिचान गर्न र त्यसका लागि कार्य गर्न प्रेरित गर्नु महत्वपूर्ण थियो ।गुरुजी मंगलदासजी महाराजजीका यी लक्ष्यहरूले व्यक्तिको आन्तरिक विकास र समाजको समग्र उत्थानको लागि महत्वपूर्ण आधारहरू प्रस्तुत गर्दछन्। उहाँको दृष्टिकोणले मानिसहरूलाई जागरूक, सशक्त, र स्नेहशील बनाउने प्रयासमा केन्द्रित छ ।
    उहाँको जीवन प्रायः करुणा र ज्ञानका कथाहरूले भरिएको छ, जहाँ उहाँले व्यक्तिहरूलाई आफ्नो आध्यात्मिक यात्रामा मार्गदर्शन गर्दै, बाधाहरू पार गर्न र उनीहरूको साँचो उद्देश्य खोज्न मद्दत गर्नुहुन्थ्यो। धेरै भक्तहरूले उहाँलाई प्रेरणा र मार्गदर्शनको स्रोतको रूपमा मान्ने गर्छन्, र उहाँका दिव्य चेतना र शिक्षाहरूले परिवर्तनको अनुभव साझा गर्ने गरेका छन्।उहाँका शिक्षाहरूलाई भविष्यका पीढीहरूका लागि प्रकाश र मार्गदर्शनको स्रोतको रूपमा स्थापित गरेको छ।
    गुरुजी मंगलदासजी महाराजजीको जीवनले मानिसहरूलाई आध्यात्मिकता, सेवा, र प्रेमको महत्वलाई बुझ्नका लागि प्रेरित गरिरहेको छ। उहाँका शिक्षाहरूले आज पनि लाखौं मानिसहरूलाई उज्यालो मार्गमा अगाडि बढ्न मद्दत गरिरहेका छन्।समाज सेवा, मानव कल्याण, अहिंसा र प्रेमका लागि मंगलदास गुरुजीले अनेकौं सुधारका काम गर्नुभयो । उहाँले गौशाला र विद्यार्थीको लागि आश्रमको निर्माण गराउनु भयो। दार्जीलिङ, सिक्किम, आसाम, नेपाल, भुटान आदि स्थानको भ्रमण गरेर मानव कल्याण र अहिंसाको लागि प्रचार गर्नुभयो । कालिम्पोङ् बजारमा मंगलधाम स्थापना गर्दै अहिंसा , शन्ति, मानव कल्याण र न्यायका लागि अनेकौँ तह र तप्काका व्यक्तिलाई प्रणामी धर्ममा दीक्षित गराउनुभयो । उहाँले वि.सं. २००१ मा ‘प्रणामी बालिका विद्या मन्दिरको स्थापना गर्नुभयो । गुरुजीले बेला बेलामा भारतका अन्य स्थानको पनि जागनी कार्यका लागि भ्रमण गर्नुभयो । बम्बइको भुलेश्वर मन्दिरमा रहेर उहाँले ‘प्रार्थना पुष्पाञ्जालिर ‘आत्म सोपान नामका किताब लेखेर प्रकाशन गराउनुभयो । गुरुजीले पैदलै हिँडेर अमरनाथको यात्रा पूरा गर्नुभयो । त्यहाँबाट फर्केर लुधियाना, अमृतसर, जालन्धर आदि स्थानमा कृष्ण प्रणामी धर्मको प्रचार गर्नुभयो । वि.सं. २०१३ मा उहाँकी जननीको धाम गमन भयो ।
    वि.सं.२०२९ मा गुरुजीले गुरुजी प्रणामी मिसन ट्रष्टको स्थापना गर्नुभयो । गुरुजीले ‘तुम सेवासे पाओगे पार मार्गलाई अगाडि बढाउनुभयो । गुरुजीले सबैलाई समाज सेवा गर्न प्रेरणा दिनु हुन्थ्यो। उहाँले मन्दिरको साथै स्कूल, आश्रम, धर्मशाला, गौशाला, अस्पताल आदिको स्थापना गराउनुभयो। वि.सं.२०३५ मा गुरुजीले इटहरीमा बुढी गंगाको किनारमा श्रीकृष्ण प्रणामी मुक्ति धामको स्थापना गर्नुभयो । भारतस्थित पन्नामा पनि धर्मशालाको निर्माण वि.सं. २०३५ मै गराउनुभयो । उहाँले सिलिगुडीमा वि।सं। २०३८ मा १०८ पारायण गराउनु भयो । वि.सं. २०३९ मा गुरुजीबाट मासिक पत्रिका ‘राजविद्याको प्रकाशन सुरु गरियो ।
    समाज सेवा , प्रेम, अहिंसा र न्यायका लागि उहाँका सेवा मुलक कार्यहरूमा मन्दिर, सत्संग भवन, प्रार्थना भवनको निर्माण र सञ्चालनद्वारा आध्यत्मिकताको विकास , विद्यालयको स्थापना गरेर शिक्षाको प्रचार गर्नु, विशेष रूपमा नारी शिक्षाको महत्व कायम गर्नु , बृद्ध आश्रमको स्थापना गरेर वृद्धहरूको सम्मान र सेवा गर्नु , संस्कृत विद्यालयको स्थापना गरेर हिन्दू धर्म संस्कृति र संस्कृतको सम्बर्द्धनमा महत्वपुर्ण योगदान रहेको छ । अस्पतालको स्थापना र संचालनद्वारा जनस्वास्थ्यको रक्षा , धार्मिक साहित्यको लेखन र प्रकाशनद्वारा धार्मिक जनचेतना जागृत, धार्मिक प्रचारकहरू तयार गरेर भावी पिंढीलाई धर्मको विकासमा मार्ग दर्शन , श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति, प्रणामी यसवाहरुलाई गोलवद्ध गर्दै सामाजिक कार्यमा अहोरात्र लाग्न श्री कृष्ण प्रणामी युवा संघ गठन गरेर महिला र युवालाई संगठित रूपमा धार्मिक सेवामा लगाउनु , भागवत र गीताका माध्यमबाट धर्म संस्कृतिको रक्षा गर्नु, ,तारतमवाणीको तालिम र गायनको परिपाटी कायम गरी महामति प्राणनाथको सन्देश व्यापक बनाउनु , महिला र युवा प्रचारकलाई व्यासासनमा बसाएर नारी र युवालाई समान अधिकारको बोध गराउनु ,अनाथहरूको संरक्षण गरी मातापिताको स्नेह दिनु र शिक्षित बनाउनु ,समय र श्रमलाई सधैं महत्त्व दिनु , सादगी र सरल जीवनयापन गर्नु गराउनु  वाहाँका प्रमुख सेवामुलक कार्यहरु रहेका छन् ।
    धर्मको नाममा पशुपक्षीको बली दिने प्रथा, जातपातका आधारमा गरिने भेदभाव र छुवाछुत जस्ता कुरीतिहरू तथा कर्मकाण्ड मात्रलाई धर्म मान्ने चलन रहेको क्षेत्रमा विभेद हटाउन गुरुजी अहोरात्र  लागि पर्नुभएको हो । उहाँले विभिन्न जातजाति, भाषाभाषी जनतामा आध्यात्मिक जागरणको लागि मन्दिर निर्माण गर्ने, नारी शिक्षामा जोड दिन कन्या पाठशाला खोल्ने, अनाथ बालबालिकाको लागि सेवा आश्रम सञ्चालन गर्ने, गौशाला, निःशुल्क औषधालय र सेवामुलक यस्ता अनेकौ कार्य गर्नुभयो । मानव कल्याण, देश सेवा र समाज सेवा, जीवनको लक्ष्य हुनुपर्छ भन्ने विश्वासका साथ उहाँ कर्मक्षेत्रमा लाग्नुभयो । उहाँ धार्मिक साहित्यका प्रचारक आध्यात्मिक ज्ञानको वैज्ञानिक तथा व्यवहारिक प्रयोग कर्ता र जीव हिंसाका कट्टर विरोधी हुनुहुन्थ्यो । गुरुजी मंगलदास, क्रषिमुनि र महात्माको तपोभूमि नेपालको गौरव हुनुहुन्छ।
    ८९ वर्षको लामो जीवन यात्रामा समाजका सबै तह, वर्ग र सम्प्रदायहरूबाट उहाँ सम्मानित हुनुहुन्छ। उहाँको स्मृतिमा कालिम्पोङमा मंगलधाम र मेहेलबोटे इलाममा मंगल मन्दिर , सुनसरी जिल्लाको इटहरी उपमहानगरपालीकामा मुक्तिधाम, झापाको भद्रपुरमा मंगल पार्क निर्माण भएका छन् ।
     अन्त्यमा, सामाजिक कार्यका महानायक ,वैज्ञानिक अध्यात्मवादका शुत्रधार, महान विचारक , दार्शनिक, सुधारक, अहिंसा,मानव कल्याण ,दया, सेवा , प्रेम र न्यायका युगिन धरोहर गुरुजीको कालजयी जीवनपद्धतिबाट पाठ सिकेर वैज्ञानिक अध्यात्मिक चेतनाको विजारेपणगरी जीवन मंगलमय बनाउन सकिन्छ । आज गुरुजीको नाम सुन्नाले मात्रै पनि विश्व जगत नतमस्तक हुन्छ ।वाहाँको जीवन दर्शनबाट विश्व जगतले समाज कल्याण,सदाचार,नैतिकता, सहिष्णुता, विश्व वन्धुत्व, भाइचारा ,सामाजीक न्याय, सुशासन,मानव कल्याण, निष्ठा र असल आचरण जस्ता गुणहरु अवलम्वन गर्दै विश्वमा मानवतावाद, अहिंसावाद, सामाजिक प्रेम र सद्भाव ग्रहण गर्न आवश्यक छ ।
    (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)