नेकपा एमाले बन्यो सबैभन्दा धनी पार्टी - Chaitanya News
  • 2026-06-27
  • 23:06:37
  • शनिबार,आषाढ १३, २०८३
  • नेकपा एमाले बन्यो सबैभन्दा धनी पार्टी

    नेकपा एमाले बन्यो सबैभन्दा धनी पार्टी

    काठमाडौँ– संसदको दोस्रो ठूलो दल नेकपा एमाले आम्दानी र बचतको हिसाबमा सबैभन्दा धनी पार्टी बनेको छ ।

    एमालेले गत आर्थिक वर्ष (२०८०–८१) मा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ। उसले ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको छ। यस हिसाबले एमालेसँग ६ करोड ९३ लाख ६७ हजार ८०६ रुपैयाँ बचत छ।

    निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०–८१ को आम्दानी र खर्चको विवरण हेर्दा अन्य दलहरूको तुलनामा एमाले सबैभन्दा धनी देखिएको छ।

    एमालेको मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क हो। एमालेले यो शीर्षकमा आर्थिक वर्ष २०८०–८१ मा कार्यकर्ताहरूबाट ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ संकलन गरेको छ।

    दलहरूको आम्दानी र खर्चको विवरण हेर्दा संसद्को पहिलो दल नेपाली काँग्रेस, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा्) र नेकपा एकीकृत समाजवादी घाटामा देखिएका छन्।

    राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा राजनीतिक दलहरूले आयव्ययको लेखा परीक्षण गर्नुपर्ने र परीक्षणको एक महिनाभित्र निर्वाचन आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ।

    सो व्यवस्थाबमोजिम गत माघ महिनाभित्र ८८ राजनीतिक दलहरूले आर्थिक वर्ष २०८०–८१ को लेखा परीक्षण प्रतिवेदन (आम्दानी र खर्चको विवरणसहित) निर्वाचन आयोगमा बुझाएका छन्। जबकि सो आर्थिक वर्षमा ११५ दल आयोगमा दर्ता भएका थिए।

    नेपालको पुरानामध्यको एक र अहिले प्रतिनिधिसभामा संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले आर्थिक वर्ष २०८०–८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपियाँ आम्दानी गरेको छ। तर खर्च भने ४ करोड ९१ लाख ५६ हजार ३७५ रुपियाँ छ ।

    यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भने आम्दानीभन्दा झन्डै दोब्बर घाटामा देखिएको छ । रास्वपाले २०८०,८१ मा ३ करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गरेको छ। उसको खर्च भने ६ करोड ५० लाख १७ हजार ७८ रुपियाँ छ ।

    जनमत पार्टीले आर्थिक वर्ष आर्थिक वर्ष २०८०–८१ मा १ करोड १८ लाख ८१ हजार ९४३ रुपैयाँ आम्दानी गरेको छ । उसको खर्च १ करोड १९ लाख ११ हजार ३३३ रुपैयाँ छ।

    एकीकृत समाजवादी पनि घाटामा

    नेकपा एकीकृत समाजवादीको पनि आम्दानीभन्दा खर्च बढी देखिन्छ ।

    निर्वाचन आयोगमा बुझाएको विवरण हेर्दा एकीकृत समाजवादीले गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६९१ रुपियाँ आम्दानी गरेको छ । उसको खर्च भने ४ करोड ५७ लाख ४० हजार ८५४ रुपैयाँ छ।

    यो हिसाबले एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६३ रुपैयाँ घाटामा छ।