सुनसरी– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली सरकार भ्रष्ट र बिचौलियाको सेवा गर्नमै केन्द्रित रहेको आरोप लगाएका छन् । जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत आज सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । यस्तै उनले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेश जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्ने समेत बताएका छन्।
उनले राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौँदेखि विभेद गरिरहेकाले यसको विरुद्ध संघर्षको झण्डा उठाउन अभियान थालिएको बताए।
उनले भने, जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको छ। भौतिक पूर्वाधारको विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट गर्न सकिने कामको पहल लिन र मानवीय विकास तथा सचेतनाका लागि पनि यो अभियान फलदायी हुन्छ।
पार्टीले उत्पीडित वर्गको पक्षमा गरेको बलिदानी पूर्ण आन्दोलनबाट धेरै अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयनमा गति नआएको, आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा थालेको काममा अवरोध गर्न सरकार नै बदलिएको र अहिलेको सरकारले भ्रष्ट, दलाल र बिचौलियाको सेवा गर्नुबाहेक जनताको पक्षमा अरू कुनै काम नगरेकाले जनतालाई सचेत बनाउँदै आफ्नो खबरदारी र जागरणमा अघि बढेको बताए।