अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव रुसी राष्ट्रपतिले गरे स्वीकार - Chaitanya News
  • 2026-06-27
  • 23:06:57
  • शनिबार,आषाढ १३, २०८३
  • अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव रुसी राष्ट्रपतिले गरे स्वीकार

    अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव रुसी राष्ट्रपतिले गरे स्वीकार

    मस्को– कुनै पनि विषयमा रुस र अमेरिका सहमत भएको निकै दुर्लभ मात्रै देख्न पाइन्छ। हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा प्रस्ताव स्वीकार गरेका छन्।

    रुस, अमेरिका र चीनलाई तिनीहरूको रक्षा बजेट ५० प्रतिशतले घटाउन ट्रम्पले सुझाव दिएका थिए। पुटिनले यसलाई राम्रो प्रस्ताव भनेका छन्। यसबारे छलफल गर्न रुस तयार रहेको पनि उनले बताए।

    ‘मलाई लाग्छ यो राम्रो विचार हो। अमेरिकाले यसलाई ५० प्रतिशतले कटौती गर्नेछ र हामी पनि ५० प्रतिशतले कटौती गर्नेछौं, र त्यसपछि चाहेमा चीन यसमा सामेल हुन सक्छ,’ एक अन्तरवार्तामा पुटिनले भनेका थिए।

    २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेदेखि रुसले आफ्नो सैन्य खर्च व्यापक बढाएको छ। यसले त्यहाँ महँगी पनि बढाएको छ। २०२४ मा रक्षा र सुरक्षा खर्च कुल गार्हस्थ्य उत्पादनको करिब ८ दशमलव ७ प्रतिशत हुने पुटिनले भनेका छन्। यस विषयमा पुटिनले चीनको तर्फबाट भने बोल्न खोजेनन्। अमेरिकासँग यसबारे छलफल गर्न रुस तयार रहेको संकेत उनले गरेका छन्। उनले भने,‘हामी अमेरिकासँग सम्झौता गर्न सक्छौँ, हामीलाई यसमा कुनै आपत्ति छैन । हामी यसलाई राम्रो प्रस्ताव ठानेका छौँ र यसबारे छलफल गर्न तयार छौँ।

    रुससँग युरोप बोलिरहेको छैन:

    युक्रेनमा सम्भावित शान्ति वार्तामा युरोपेली देशहरूको भूमिकाको बारेमा पनि पुटिनले चर्चा गरेका थिए। यसमा युरोपेली देशहरूलाई पनि सामेल गराउनु पर्ने अनुरोध उनले गरेका थिए। युरोपेली सहभागिताको बारेमा सोध्दा पुटिनले भने, ‘म यसमा केही गलत देख्दिन। युरोपेली देशहरूलाई यस युद्धमा युक्रेन आफैँले जत्न सक्छ भन्ने लागेकाले उनीहरू रुससँग बोल्न नमानेको पुटिनको दाबी थियो। रुसले ब्रिक्स देशहरूको विचारलाई महत्त्व दिने पनि उनले बताए। शान्ति चाहने सबै साझेदारहरूप्रति आफू आभारी रहेको र वार्तामा युरोप मात्र नभएर अन्य देशहरूलाई पनि भाग लिने अधिकार भएको उनले बताए। एजेन्सी बाट