अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता: आज नेपालले म्यानमारसँग भिड्दै - Chaitanya News
  • 2026-06-06
  • 02:36:01
  • शुक्रबार,जेठ २२, २०८३
  • अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता: आज नेपालले म्यानमारसँग भिड्दै

    अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता: आज नेपालले म्यानमारसँग भिड्दै

    काठमाडौं–  इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज (आइतबार) आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्ने भएको छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ।

    हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन्। त्यसकारण यस खेल फाइनलअघिको वार्म–अप सरह हुनेछ।

    म्यानमारले लेबनानलाई ३–१ तथा कीर्गिस्तानलाई ५–० गोलअन्तरले हराएको थियो भने नेपालले लेबनान र कीर्गिस्तान दुवैलाई समान १–० गोलअन्तरले हराएको थियो।

    नेपालका प्रशिक्षक राजेन्द्र तामाङले यस खेलका लागि म्यानमारको टोलीको रणनीति बुझेर त्यसैअनुसार फाइनलको योजना बनाउन सहज हुने बताएका छन्।

    नेपाल र म्यानमारबिच हालसम्म ३ खेल भएको छ जसमा एक बराबरी खेल्दा दुई खेलमा नेपाल पराजित भएको थियो। म्यानमारले ७ गोल गर्दा नेपालले जम्मा २ गोल मात्र गरेको छ।

    सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३–० ले पराजित भएको थियो भने फाइनलमा ३–१ ले पराजित भएको थियो। त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एएफसी क्वालिफाइङ राउण्ड वानमा नेपालले म्यानमारसँग १–१ को बराबरी खेलेको थियो।

    आजै दिउँसो २ बजे हुने खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोलीका लागि सान्त्वना जितको पनि अवसर हुनेछ।