काठमाडौँ– नेकपा एकीकृत समाजवादीले पार्टीका नेता कार्यकर्ताको आचरण र व्यवहार पार्टीले अँगालेको क्रान्तिकारी सिद्धान्तअनुरूप बनाउन भन्दै आचासंहिता बनाएको छ।
आज (शुक्रबार)देखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव नेपालले १३ बुँदे आचारसंहिता पेस गरेका हुन् । आचारसंहितामा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार सरल हुनु हुनुपर्ने र उनीहरूको जीवनशैली सादा हुनुपर्ने उल्लेख छ ।
आचारसंहितामा भनिएको छ, ‘पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ तर पार्टी निर्णयका विरुद्ध आफ्नो पार्टी कमिटीभन्दा बाहिर गएर बोल्न र मत राख्न पाइँदैन । आफ्नो फरक मत वा धारणा भए पनि पार्टी निर्णयको अवज्ञा गर्न पाइँदैन । पार्टी निर्णय लागू गर्नु पर्दछ। अरूका विचारको सम्मान गर्नु पर्दछ। यही हो जनवाद र अनुशासनको सन्तुलन वा सीमा । यस सीमाभित्र रहनु सबैको कर्तव्य हो, यसलाई नाघ्नु दण्डनीय हुन्छ।’
पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने उल्लेख छ। नेता कार्यकर्ताको खानपान, रहनसहन, बस उठ सरल र सामान्य हुनुपर्नेछ।
महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्ने उल्लेखसहित आचारसंहितामा भनिएको छ, ‘हामीले व्यवहारमा कम्युनिस्ट नैतिकता प्रदर्शन गर्नुपर्दछ, गर्नेछौँ । परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन ।’