वासिङ्टन डीसी– विश्वको सबैभन्दा ठुलो विद्युतीय कार निर्माता कम्पनी टेस्ला लामो समयदेखि भारत छिर्ने प्रयासमा छ। अब भने उसको भारत प्रवेश सफल हुने हो कि भन्ने संकेत देखिएको छ।
कम्पनीले केही दिन अघि मात्रै भारतका विभिन्न स्थानमा कर्मचारी भर्ना सुरु गर्न आवेदन जारी गरेको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खर्बपति व्यापारी तथा आफ्ना निकट मित्र समेत रहेका मस्कको टेस्लाको भारत छिर्ने योजना फिटिक्कै मन परेको छैन। टेस्लाले भारतमा विद्युतीय कार उत्पादन गर्न उत्पादन प्लान्ट स्थापना गर्नु अमेरिकाको लागि धेरै अन्यायपूर्ण हुने ट्रम्पले बताएका छन्।
फक्स न्युजका सीन ह्यानिटीका लागि मस्कसँगको संयुक्त अन्तरवार्तामा ट्रम्पले भनेका छन् कि टेस्लाले नयाँ ट्याब खोल्छ र भारतमा करबाट बच्न कारखाना बनाउँछ भने यो अमेरिकाको लागि अन्याय नै हुनेछ।
ट्रम्पले गत हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा भारतले कारहरूमा लगाएको उच्च करको आलोचना गरेका थिए। ‘दुनियाँका हरेक देशले हामीबाट फाइदा उठाउँछन्, अनि उनीहरूले शुल्क लगाएर यस्तो गरिरहेका छन्। जसका कारण अमेरिकी कम्पनीहरूलाई अर्को देशमा व्यापार गर्न व्यावहारिक रूपमा असम्भव हुनेछ। ट्रम्पले भने कि यदि मस्कले भारतमा स्थापना गर्न चाहन्छन् भने त्यो उनको लागि ठिक हुनेछ, तर यो अमेरिकाको लागि अन्यायपूर्ण हुनेछ, निकै अन्यायपूर्ण,’ ट्रम्पले भने।
रोयटर्समा छापिएको खबरका अनुसार टेस्लाले भारतमा प्रवेश गर्न आफ्नो खुद्रा आउटलेटहरू सुरु गर्न दुई स्थान छानेको छ। कम्पनीले राजधानी दिल्ली र मुम्बईमा पनि आफ्नो पहिलो शोरूम खोल्ने तयारी गरिरहेको छ।
यी दुई स्थानमा शोरूम खोलेर टेस्लाले भारतीय कार बजारमा आफ्नो उपस्थिति विस्तार गर्नेछ। मस्कको कम्पनीले २०२३ को अन्त्यदेखि शोरूमका लागि ठाउँ खोजिरहेको थियो। तर नीतिगत अवरोधका कारण यसमा ढिलाइ भइरहेको थियो । टेस्लाले लामो समयदेखि भारतमा प्रवेश गर्ने विचार गरिरहेको थियो । तर उच्च आयात शुल्कका कारण कम्पनी पछि हटेको थियो।
तर, हालै भारत सरकारले नीतिमा परिवर्तन गरेको थियो। यसमा ४० हजार डलरभन्दा बढी मूल्यका विलासी विद्युतीय कारहरूमा भन्सार शुल्क ११० प्रतिशतबाट घटाएर ७० प्रतिशतमा झारेको छ। सरकारको यो नयाँ नीतिले विदेशी कम्पनीहरूका लागि भारतीय बजारलाई अरु आकर्षक बनाएको ठानिएको छ। एजेन्सी