नेपाललाई दिँदै आएको सहायताबारे ट्रम्पले भने– फ्रड हो - Chaitanya News
  • 2026-06-28
  • 01:20:58
  • शनिबार,आषाढ १३, २०८३
  • नेपाललाई दिँदै आएको सहायताबारे ट्रम्पले भने– फ्रड हो

    नेपाललाई दिँदै आएको सहायताबारे ट्रम्पले भने– फ्रड हो

    काठमाडौँ– दोस्रो पटक अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हालेयता डोनल्ड ट्रम्प एक्शनमा छन्।

    जनवरी २० मा राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले कयौँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। यी आदेशमध्ये केही वैदेशिक अनुदान रोक्नेबारे थियो। केही दिनअघि मात्रै मस्कको नेतृत्वको प्रशासनिक दक्षता विभाग (डज)ले नेपाल, भारत, बंगलादेश लगायत विश्वका कयौँ देशलाई अनेक शीर्षकमा दिँदै आएको सहायता रोकेको घोषणा गरेको थियो।

    यस क्रममा डजले नेपाललाई जैविक विविधता संरक्षण गर्न र वित्तीय संघीयताका लागि दिँदै आएको रकम रोकेको थियो। यसैबिच ट्रम्पले नेपाललाई दिँदै आएको रकम रोक्का गर्नुको कारण खुलाएका छन्। अनेक शीर्षकमा दिँदै आएका यी रकमलाई उनले ठगी भनेका छन्।

    डजले वित्तीय संघीयताका लागि दिँदै आएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि दिँदै आएको १ करोड ९० लाखसहित ३ करोड ९० लाख अर्थात् नेपाली झण्डै ५ अर्ब ४३ करोड रुपैयाँ रोकेको थियो। ‘यो फ्रड हो,’ पत्रकारहरू समक्ष बोल्ने क्रममा ट्रम्पले भने।

    ट्रम्पले अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा यो अभिव्यक्ति दिएका हुन्। त्यहाँ उनले थप केही कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। यसअघि डजले अमेरिकी सहयोग नियोग यूएसएडको अनुदानमा नेपालमा सञ्चालित ६ परियोजना रद्द गरेको थियो। अहिले अमेरिकी सहयोगको एमसीसी परियोजनाका कामको भुक्तानी पनि नेपालमा रोकिएको छ। अमेरिकाले भारतलाई निर्वाचन साक्षरताका लागि दिँदै आएको २ करोड १० लाख डलर पनि रोकेको थियो। भारतलाई हामी किन पैसा दिइरहेका छौँ, उनीहरूसँग टन्नै पैसा छ भनेर ट्रम्पले भनेका थिए। एजेन्सी