प्रधानमन्त्रीले भने: राणाले सन्तानका लागि दरबार बनाए, प्रजातन्त्रले जनताका लागि सडक - Chaitanya News
  • 2026-06-28
  • 03:34:23
  • शनिबार,आषाढ १३, २०८३
  • प्रधानमन्त्रीले भने: राणाले सन्तानका लागि दरबार बनाए, प्रजातन्त्रले जनताका लागि सडक

    प्रधानमन्त्रीले भने: राणाले सन्तानका लागि दरबार बनाए, प्रजातन्त्रले जनताका लागि सडक

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्खाले भोगेको हन्डरले परिवर्तन भएको बताउँदै नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने बताएका छन् ।

    आज (बुधबार) प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन र प्रजातान्त्रिक व्यवस्थाको तुलना नै हुन नसक्ने बताए ।

    जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको तर प्रजातन्त्रपछि जनताका लागि सडक, पुल, कुलो, बिजुली व्यापार केन्द्र र विद्यालय बनाएको स्मरण गराए ।

    उनले भने, ‘जहानियाँ शासकले सन्तानका लागि दरबार बनाए । जनताका लागि प्रजातन्त्रले सडक बनायो, पुल बनायो, कुलो बनायो, बिजुली व्यापार केन्द्र र विद्यालय बनायो ।’

    उनले नागरिकको जीवन बदल्न प्रजातन्त्रमा बनेका संरचनाको राणाले सन्तानका लागि बनाएका संरचनासँग तुलना हुन नसक्ने भन्दै विवेकको तराजुमा राखेर तौलिनुपर्ने बताए ।

    उनले अहिले देशमा समग्र रूपमा विकास भइरहेको बताउँदै विकासोन्मुखबाट विकासशीलतिर अघि बढेको दाबी समेत गरे ।

    बढ्दो जनआकांक्षा र चुनौतीबीच पनि लय मिलाएर संगतीपूर्ण रूपमा सरकार अघि बढेको उनको भनाइ छ ।

    उनले योजनाबद्ध विकासको सुरुआत भएको बताउँदै युवा पुस्तालाई ध्यानमा राखेर स्टार्टअपद्वारा उद्यमशीलताको थालनी गरिएको बताए ।

    सेवालाई पारदर्शी र जबाफदेही बनाउँदै, असमानता र भ्रष्टाचार हटाउँदै डिजिटल माध्यमबाट जनतालाई शीघ्र सेवा दिने कामको सुरु गरिएको उनले बताए ।

    यसले गर्दा समग्र रूपमा जनताको जीवनमा प्रगति भएको उनको दाबी छ ।