लोकसेवालाई जागिर खाने परिक्षाको रुपमा नभई जिवन निर्माणको रुपमा लिनुभयोे भने अवश्य पनि सफल हुनुहुनेछ  - Chaitanya News
  • 2025-05-15
  • 16:23:20
  • बिहिबार,जेठ ०२, २०८२
  • लोकसेवालाई जागिर खाने परिक्षाको रुपमा नभई जिवन निर्माणको रुपमा लिनुभयोे भने अवश्य पनि सफल हुनुहुनेछ 

    लोकसेवालाई जागिर खाने परिक्षाको रुपमा नभई जिवन निर्माणको रुपमा लिनुभयोे भने अवश्य पनि सफल हुनुहुनेछ 

    लोकसेवा परिक्षामार्फत् सरकारी सेवामा प्रवेश गर्ने चाहाना सबैमा हुन्छ । यही चाहानालाई साकार पार्न हजारौं परीक्षार्थिहरु परीक्षामा सामेल हु्रन्छन् । तर, केही परीक्षार्थिहरु मात्रै सफल हुन्छन् । असफल हुने केही परीक्षार्थिहरु यो कठिन झमेलामा फस्न चाहदैनन् र लोकसेवा पढ्न अनि लोकसेवाको फर्म भर्ने झन्झटबाट मुक्त हुन्छन् । तर, कुनै असफल परीक्षार्थिहरु भने एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैनन् र लोकसेवा पढिरहन्छन्, लोकसेवाले लिने परिक्षामा सामेल भइरहन्छन् । अन्ततः सफलता हासिल गरिछाड्छन् । त्यसो भए लोकसेवाले लिने परिक्षामा सफल हुनुको रहस्य के छ त ? यिनै विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले भरखरै शाखा अधिकृतमा सिफारीस भएका शाखा अधिकृत गोरख बहादुर धामीसँग गरेको संवादको सम्वादित अंशः

    1.  तपाई शाखा अधिकृतका रुपमा नेपाल सरकारको निजामति सेवामा नाम निकाल्न सफल हुनु भएको छ, कस्तो महसुस भइरहेको छ ?
    निजामति सेवामा छिर्ने सपना शाखा अधिकृतको रुपमा प्रवेश गरेर पुरा गरे, नब प्रवेशीको हिसाबले अनौंठो किसिमको खुशी र नयाँ जिम्मेवारी थपिएको महसुस भएको छ ।

    2. यो सफलता प्राप्तिका लागि यहाँले कसरी तयारी गर्नुहुन्थ्यो ?
    तयारी गर्ने निश्चित सुत्र नै त छैन् । यसरी नै तयारी गरे भने ठ्याक्कै भन्न त अप्ठ्यारो छ । तर, निरन्तरको अबलोकन, अध्ययन, मनन तथा मौलिक बुझाई र त्यसको लेखनमा अभिव्यक्त गर्ने क्षेमता बिस्तारले सफलता प्राप्तिमा सहयोग गर्यो

    3. अध्ययनका लागि कुन र कति समय छुट्याउनु हुन्थ्यो ?
    म यस अघि कुषि प्रशिक्षकको रुपमा सामुदायिक विद्यालयमा प्रशिक्षक संयोजकको रुपमा कार्यरत थिए, १०–४ को समय विद्यालयमा नै बित्थ्यो । त्यो भन्दा बाहेक बिहान र बेलुकाको समय अध्ययनका लागि छुट्याएको थिए ।

    4. लोकसेवा तयारीका क्लास र पुस्तकले तयारीमा कस्तो टेवा पुग्छ ?
    लोकसेवा तयारी विशेष त शाखा अधिकृतको तयारीका लागि एउटै तरिकाले सफल भइन्छ जस्तो लाग्दैन मलाई, विशेष गरी निरन्तरको मौलिक अध्ययन, लेखनमा सटिक र मौलिक प्रस्तुतिकरण शैली विकास गर्न र उत्तरमा बहुआयामिक प्रस्तुतिकरणका लागि डायनामिक तरिकाको पठन शैली जरुरी हुन्छ । किताब र क्लासको जस्ताको त्यस्तै हुबहु परिक्षामा लेखेर बढ्दो प्रतिस्पर्धाबिच सफलता प्राप्त गर्न सकिनैन् । आफ्नो विषयवस्तुको बुझाईको स्तर, विद्यालय देखि कलेज सम्मको पूर्व अध्ययनको स्तर समेत बुझेर आफ्नो समय तालिका निर्धारण गर्नुपर्छ । अर्को लोकसेवा तयारीका सन्दर्भमा मेरो बुझाईमा एकल रुपमा न त उपलब्ध पुस्तक नै प्रयाप्त छन् न त तयारी क्लास नै तर, पढाईको आधारमा पुस्तकले तयार गर्दछ भने, तयारी क्लासमा विशेष गरी परिक्षाहरुले आफ्नो स्तर मापन गर्न र बिषयवस्तुलाई स्पस्ट पार्न निकै सहयोग गर्दछ । तर एउटै बिधी भने पुर्ण नहुन सक्दछ ।

    5. अध्ययन गर्दा कस्ताखाले सामाग्री छनोट गर्नु उपयुक्त हुन्छ ? र यहाँले कस्ता सामाग्रीलाइृ बढी प्राथमिकता दिनुहुन्थ्यो ?
    आफ्नो कधयत बलबथिकष्क गरी सोही अनुसार योेजनाहर बनाउनु उपयुक्त हुन्छ । अध्ययन गर्दा विशेष गरी तथ्यांकहरु बजारमा उपलब्ध सामाग्रीबाट भन्दा पनि आधिकारिक श्रोतबाट आफै खोजी गरी पढ्नु राम्रो हुन्छ । अहिले प्रतिस्पर्धाको स्तर निकै माथि छ, कुनै पुस्तक पढेर त्यसमा रहेको बिषयवस्तुहरु जस्ताको त्यस्तै प्रस्तुत गरेर प्रतिस्पर्धी बन्न सकिदैन् । मैले भने तथ्याङ्कको हकमा आधिकारिक श्रोतबाट टिपोट गरी पढ्थे, यस्तै प्रथम पत्रको हकमा एउटा पुस्तकलाई आधार पुस्तक मानेर पढी सकेपछि बाकी सम्बन्धित सामाग्रीको अध्ययन सुरु गर्थे । विशेषगरी गोरखापत्र लगायत पत्रपत्रिका, विभिन्न वेवसाइटहरु, अनुसन्धान दस्तावेजहरु, आधिकारीक जानकारीहरु, नियमित समाचार सुन्ने र रिपोट गर्ने गरेको थिए, जसले गर्दा एकातिर प्रथम पत्रको तयारी राम्रो हुन पुग्यो । अप्रत्यक्ष रुपमा लिखित पत्रको हकमा पनि पाठ्यक्रममा भएका बिषयवस्तुको स्पस्ट धारणा र मौलिक बुझाई जरुरी हुँदो रहेछ । बिषयवस्तु बारे आफ्नो मौलिक बुझाई बनाउनु अति नै जरुरी हुन्छ, त्यसैले पढ्नका लागि उपलब्ध सबै सामाग्रीको अध्ययन र त्यस पश्चात आफ्नो मौलिक लेखन अभ्यासले बढी काम गर्दछ ।

    6. अहिले लोकसेवाप्रति युवाहरुको आकर्षण कस्तो देख्नुहुन्छ ?
    अहिले काठमाडौंको सडकमा कुनै झोला भिरेर हिडिरहेको युवालाई सोध्ने हो भने कि कलेज पढिरहेको, कि विदेशको तयारी गर्ने अनि कि लोकसेवाको तयारी गरिरहेको र थोरै मात्रामा कहि कतै गरिरहेको भेट्न सकिन्छ । यो ठेट तथ्यांक नभए पनि वास्तविकता हो जस्तो लाग्छ । बिशेष गरी मध्यम परिवारका युवाहरुको राजाई नै लोकसेवा बनेको देख्छु । निस्पक्षता, योग्यता र क्षमताको कदर हुने र स्थायी रुपमा देशको लागि केही गर्न सकिने भएकाले युवाहरुको प्रमुख राजाई लोकसेवा बनेको देखिन्छ ।

    7. अहिले लाखौं युवाहरु विदेशीएका छन्, यहाँको मनमा विदेश जाने सोच कहिले आयो कि आएन् ?
    विश्व एउटा हत्केलामा कैद भइसकेको भनेर सुन्न पढ्न पाईन्छ । ग्लोबल भिलेजको अवधारणाले बिस्तारै विदेश र स्वदेश भनेर छुट्याउने अवस्थाको अन्त्य हुँदे छ । जता गएर काम गरे पनि आखिर आत्मसम्मान र सन्तुष्टिका लागि नै हो । हामी सँग पनि विदेशमा काम गरेर फेरि नेपालमा नै फर्केर लोकसेवा उत्तिर्ण गरी सँगै तालिम गरिरहेका साथिहरु पनि छन्, भने नेपालमै स्थायी जागिर छाडेर विदेशिएकाहरु पनि छन् । सपना आवश्यकता र पूर्तिको असन्तुष्टले जन्माएका अनेक व्यवधानले यस्तो भएको जस्तो लाग्छ । धेरै नेपाली युवाहरु आधारभुत आवश्यकता पूर्ती गर्ने वातावरण स्वदेशमा नदेखेर विदेशिनु भएको छ, त्यो चाहीँ दःुखद हो । तर मलाई भने कहिले पनि विदेश जानुपर्छ जस्तो लागेन्, भरखर देशको लागि आधिकारिक रुपमा केही गर्ने ठाउँमा पुगेको छु । अहिलेसम्म यो सोच आएको छैन् ।

    8. अन्त्यमा लोकसेवा तयारी गरिरहनु भएका परिक्षार्थिलाई कस्तो सन्देश दिन चाहानुहुन्छ ?
    लोकसेवा तयारी हल्ला भए जस्तो पहाडै फोड्नु पर्ने, खान पिउन छोड्नु पर्ने, बनबासै बसेर पढ्नु पर्ने भन्ने जस्तो अप्ठ्यारो चाही हुदैन् । निरन्तर अनुशासन, नियमित पढाई, मौलिक बुझाई र समयसिमा भित्र प्रश्नले मागेको बहुआयामिक प्रस्तुतिकरण सहितको उत्तर लेख्न सकेमा पहिलो प्रयासमै पनि उत्तिर्ण हुन सकिन्छ । यद्यपि पहिलो प्रयामै उत्तिर्ण भएन भनेर हिम्मत हार्नु भने हुदैन् । त्यसको लागि प्रश्न बुझेर आफ्नै तरिकाको समयतालिका अनुसार अगाडि बढ्नुपर्छ । यदि तपाई लोकसेवा तयारी गर्दै हुनुहुन्छ भने, यसलाई जागिर खाने परिक्षाको रुपमा मात्रै नभई जिवन निर्माणको महान कार्यको रुपमा लिनु भयो र त्यहिअनुरुप आफ्नै गतिमा अघि बढ्नुभयो भने अवश्य पनि सफल हुनुहुनेछ लोकसेवाको उत्तर लेख्दा मात्रै होईन् यसको हरेक चरणमा तपाईले आफ्नो गति र लय अनुसार अगाडि बढ्नुपर्छ ।