आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै - Chaitanya News
  • 2026-06-06
  • 02:35:53
  • शुक्रबार,जेठ २२, २०८३
  • आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै

    आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै

    काठमाडौं– आज (बुधबार) देखि पाकिस्तानमा सुरु हुने नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड खेल्दैछन् । आठ वर्षपछि हुन लागेको आईसीसीको यस ‘मिनी विश्‍वकप’मा आठ टोलीहरू सहभागी रहनेछन्।

    दुई समूहमा विभाजित आठ टोलीहरूमा आयोजक पाकिस्तानसहित भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान छन्। पाकिस्तान साविक विजेता समेत हो।

    समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन्। हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन्।

    खेल दिउँसो पौने ३ बजेदेखि नेशनल स्टेडियम कराँचीमा सुरू हुनेछ ।

    पछिल्लोपटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो। त्यसअघि सन् २०१३ मा भने भारतले जितेको थियो भने त्यसअघि सन् २००९ र २००६ मा अस्ट्रेलियाले जितेको थियो।

    सन् २००२ मा भारत र श्रीलंकाले संयुक्त रूपमा उपाधि बाँडेका थिए। त्यसअघि आईसीसी नकआउट प्रतियोगिताको नामबाट सन् १९९८ मा सुरू भएको पहिलो संस्करणको उपाधि दक्षिण अफ्रिका तथा दोस्रो संस्करणको उपाधि सन् २००० मा न्युजिल्याण्डले जितेको थियो।