काठमाडौं– आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ आज देशभर प्रजातन्त्र दिवस मनाइँदै छ।
प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ।
कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ। प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
संवैधानिक रूपमा प्रजातान्त्रिक व्यवहार अनुसार नागरिकका अधिकार स्थापित गर्ने कामको बलियो थालनी २००७ को जनक्रान्तिले गरेको र सोही जनक्रान्तिको जगमा टेकेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समानुपातिक, समावेशीसहितको नागरिकलाई अधिकारसम्पन्न बनाउने व्यवस्थाको अभ्यास आरम्भ भएको राजनीतिशास्त्रीहरु बताउँछन्।
देशमा पछिल्लो सात दशकमा विभिन्न चरणमा राजनीतिक परिवर्तन र शासकीयस्वरूपमा रूपान्तरण भए पनि त्यसको आधार २००७ कै क्रान्ति भएको त्रिभुवन विश्वविद्यालय राजनीतिकशास्त्रका पूर्वविभागीय प्रमुख प्राध्यापक डाक्टर मीना वैद्य मल्ल बताईन्।
उनले २००७ सालको जनक्रान्तिको जगमा नेपालमा सबै क्षेत्रमा रूपान्तरण आएको र नागरिक तहमा पनि शिक्षाको विकास र चेतनाको विकास भएको तर्क गरिन्। यस्तै, दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ भने राष्ट्रप्रमुख, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा शीर्ष नेतृत्वहरुले देशबासीलाई छुट्टा–छुट्टै शुभकामना दिएका छन्।
प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण गराएका छन् ।