नागरिकता विधेयकमाथि संशोधन हाल्न समय खुला - Chaitanya News
  • 2026-11-17
  • 11:54:40
  • मंगलबार,मंसिर ०२, २०८३
  • नागरिकता विधेयकमाथि संशोधन हाल्न समय खुला

    नागरिकता विधेयकमाथि संशोधन हाल्न समय खुला

    काठमाडौँ– नेपाल नागरिकता ऐन संशोधन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सांसदहरूलाई समय खुला भएको छ।

    सरकारले ल्याएको विधेयकमाथि आइतबार प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो । छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची आइतबारकै लागि तय भएको थियो ।

    तर, गणपूरक संख्या नपुगेर स्थगित भएको थियो । आइतबार प्रतिनिधिसभामा २२० जना सांसदले हाजिर गरेका थिए । तर, विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा जम्मा ६८ जना उपस्थित थिए ।

    १५२ जना सांसद हाजिर गरेर टाप कस्दा आइतबार पारित हुन नसकेको प्रस्ताव सोमबार सभाले पारित गरेको हो ।

    सोमबार सभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ। यो सँगै अब सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्छन्।

    सांसदहरूको संशोधन प्रस्तावसहित विधेयकमाथि दफावार छलफल हुनेछ।