काठमाडौँ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आजको व्यवस्थापनले गणतन्त्र नथाम्ने भन्दै मुलुकमा केही न केही हुने निश्चित भएको बताएका छन् । आज (आइतबार) समाजवादी प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालामा बोल्दै उनले नेपालको गणतन्त्र अब यसैगरी धेरै समय नचल्ने दाबी गरे।
यस्तै उनले भने, ‘आगामी दिन सत्ता फासिस्ट हुँदै जानेछ। सडक अराजक हुँदै जानेछ। यी दुवै कुरा समाधान होइनन्। कमरेडहरू यतिकै यो गणतन्त्र चल्दैन, चल्दैन र चल्दैन। केही न केही हुनेवाला छ। आजको व्यवस्थापनले यो गणतन्त्र थाम्दैन, कि क्रान्तिकारी हस्तक्षेपले ठिक बाटो लिन्छ कि यो मुलुकका नागरिकले धेरै ठूलो क्षति व्यहोर्नुपर्ने छ। त्यसैले अब हामीले हस्तक्षेप गर्ने बेला आयो।
महासचिव भुसालले आजको संकटको समाधान वामपन्थीले दिने भए पनि एमाले र माओवादीबाट सम्भव नभएकाले नेकपा एसको भूमिका निर्णायक रहेको दाबी गरे।
उनले नेकपा एसले लिएको बाटोमा माओवादी र एमाले आउनै पर्ने भन्दै उनीहरू घमण्ड र हीनताबोधले नेकपा एसमा नआए पनि अन्तिममा आउनै पर्ने बताएका छन्।