काठमाडौँ– संघीय संसद् अन्तर्गत आज (शुक्रबार) बिहान ११ बजे ६ वटा संसदीय समितिको बैठक बस्ने तय भएको छ । जसअनुसार बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुने छ।
यस्तै आज नै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्ने तय भएको छ। बिहान ११ बजे बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल गर्ने बार्यसूचि रहेको छ ।
यसैगरि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे ने बस्ने तय भएको छ । बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल हुने छ ।
यस्ते आज बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफल गर्ने योजना रहेको छ ।
यो सँगै बिहान साढे ११ बजे कस्ने तय भएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा स्वर्गद्वारी गुठी किसानका समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल गर्ने कार्यसूचि रहेको छ ।
यस्तै आज नै आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको छ । दिउसो साढे १२ बजे बस्ने तय भएको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन, २०८१ उपसमितिबाट समितिसमक्ष पेस गर्ने र छलफल गर्ने कार्य योजना रहेको छ ।