काठमाडौँ– युरोपेली मुलुक डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देशमाको सूचिमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज (मंगलबार) पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकअनुसार उक्त देश कुल १०० मध्ये ९० अंक प्राप्त गरेर विश्वकै सबैभन्दा कम भ्रष्टाचार हुने देशमा दर्ज भएको हो।
डेनमार्क विगत ७ वर्षदेखि एक नम्बर रहँदै आएको छ। यस्तै विगत ५ वर्षमा १८० देशमध्ये ७ वटा मुलुकहरुले भ्रष्टाचार अवधारणा सूचकांकमा उल्लेख्य प्रगति गरेका छन्। ट्रान्सपरेन्सीका अनुसार विश्वका दुई तिहाइ देशहरुले १०० मा ५० भन्दा कम अंक प्राप्त गरेका छन्। जसअनुसार सर्वेक्षण गरिएका १८० मुलुकको औसत अंक यस वर्ष ४३ कायम भएको छ।
यस्तै साउथ सुडान भने विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा दर्ज भएको छ। सर्वेक्षण गरिएका १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा परेको छ। नेपालले १०० मा जम्मा ३४ अंक प्राप्त गरेको छ। गत वर्ष नेपालले यस्तो अंक ३५ पाएको थियो। यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी रुपले काम कारबाही अगाडि बढाउन आवश्यक देखिएको ट्रान्सपरेन्सीले औँल्याएको छ।