संसदीय इतिहासमा हिजो ‘कालो दिन’का रूपमा दर्ज भयो : संसदमा सोबिता गौतम - Chaitanya News
  • 2026-06-28
  • 17:58:18
  • आइतबार,आषाढ १४, २०८३
  • संसदीय इतिहासमा हिजो ‘कालो दिन’का रूपमा दर्ज भयो : संसदमा सोबिता गौतम

    संसदीय इतिहासमा हिजो ‘कालो दिन’का रूपमा दर्ज भयो : संसदमा सोबिता गौतम

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सांसद सोबिता गौतमले संसदीय समितिबाट आएका प्रतिवेदनमाथि सरकारले पुनः संशोधन राख्न पाउने नजिर स्थापित भएको भन्दै आपत्ति जनाएकी छिन्।

    आज (सोमबार) प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले उक्त आपत्ति जनाएकी हुन् । यस्तै सांसद गौतमले कानुन समितिले पारित गरेको प्रतिवेदनमाथि सरकारले संशोधन प्रस्ताव हालेर जनताको आँखामा छारो हाल्ने काम भएको समेत दाबी गरिन्।

    ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सत्तापक्षकै सांसदले राखेको संशोधनप्रति उनले आपत्ति जनाएकी हुन्।

    कानुनमन्त्री अजयकुमार चौरसियाले आइतबार उक्त विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा प्रस्तुत गरेका थिए। प्रतिवेदन कानुन, न्याय तथा संसदीय समितिबाट पारित भइसकेको छ।

    प्रतिवेदन पारित भएपछि उक्त विधेयकमा कानुन समिति सदस्य समेत रहेकी काँग्रेस सांसद सुशीला थिङले संशोधन प्रस्ताव राखेकी थिइन्।

    उक्त प्रस्तावमा जवाफ दिँदै कानुनमन्त्री चौरसियाले संशोधन प्रस्ताव स्वीकार गर्ने जवाफ दिएका थिए।

    ‘हिजो विधायन सम्बन्धमा व्यवस्था गरिएको विधेयक यो सदनबाट पारित गर्दै गर्दा, कानुन समितिले विस्तृत रूपमा छलफल गरी कानुनमन्त्रीकै उपस्थितिमा छलफल गर्दै सर्वसम्मतिमा पारित गरेको प्रतिवेदनमाथि सरकारले संशोधन प्रस्ताव गर्‍यो,’ सांसद गौतमले भनिन्, ‘तर, सत्तापक्षका एक सांसदले प्रस्ताव गरेको संशोधन स्वीकृत गरिएको भन्दै जनताको आँखामा छारो हाल्ने काम गरियो।’

    यो घटनाले संसदीय इतिहासमा एउटा गलत नजिर स्थापित भएको उनले बताइन्।

    ‘यो संसदीय इतिहासमा एउटा अत्यन्त गलत नजिर स्थापित भएको छ। अब समितिबाट आएका हरेक प्रतिवेदनमाथि सरकारले फेरि संशोधन राख्न पाउने नजिर स्थापना भएको छ,’ गौतमले भनिन्।

    संसदीय अभ्यासमा नै हस्तक्षेप भएको भन्दै उनले हिजोको दिनलाई ‘कालो दिन’को रूपमा दर्ज भएको बताइन्।

    ‘यो गलत नजिर स्थापनाका कारण संसदीय अभ्यासमा हस्तक्षेप भएको छ, जसले संसदीय इतिहासमा यो दिनलाई कालो दिनका रूपमा दर्ज गराएको छ,’ गौतमले भनिन्, ‘आम जनता यसलाई हेरिराखेका छन्, किनकि हाम्रा सबै कामहरू सार्वजनिक परीक्षण (पब्लिक अडिट) मा पर्छन्। विधि विपरीत कुनै काम नहोस्, र गलत नजिर स्थापना गर्ने कार्य यो सदनबाट नगरियोस्।