काठमाडौं– पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा मछिन्द्रलाई टाइब्रेकरमा हराउँदै थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा आज भएको खेलमा टाइब्रेकरमा ४–२ गोलान्तरले हराउँदै अन्तिम ४ मा प्रवेश गरेको हो।
निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा थ्रीस्टारले बाजी मार्यो।
मछिन्द्र प्रिक्वाटरफाइनलमा विभागीय टोली एपीएफ एफसीलाई हराउँदै क्वाटरफाइनल पुगेको हो भने थ्री स्टारले बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो। थ्रीस्टार ५ पटकको आहारारा गोल्डकपको च्याम्पियन टोली समेत हो। मछिन्द्रले भने अहिलेसम्म पोखरामा उपाधि जित्न सकेको छैन। यसपटक पनि क्वाटरफाइनलबाटै बाहिरिएको छ।