काठमाडौं– महावीर पुनले विद्यावारिधि (पीएचडी) गरेका छैनन्, न उनी मेडिकल डाक्टर हुन्। तर मानिसहरू उनलाई बेलाबखत ‘डाक्टर साब’ भन्दै सम्बोधन गर्छन्। महावीर भने आफूलाई ‘मूर्ख’ भन्छन्। किन त? शनिबार पोखरामा ‘समृद्धि स्टिल राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को अन्तक्रिर्यामा उनले यो प्रश्नको सामना गर्नुपर्यो।
‘एउटा परिस्थितिले केही मानिसले मलाई डाक्टर भन्छन्, तर म आफूलाई मूर्ख भन्छु। म बल देखाएर मूर्ख भएको हैन, जिन्दगीमा धेरै उतारचढाव हुँदै समाजका लागि काम गर्दै जाँदा केहीले डाक्टर भन्छन्,’ उनले भने, ‘म मेडिकल डाक्टर हैन, ठूला युनिभर्सिटी र अस्पतालमा काम पनि गर्दिनँ। म एउटा मूर्ख हुँ। मूर्ख बन्दा डाक्टर भने। तर, म आफूले आफूलाई मूर्ख भन्छु।’
पुनले आफूलाई डाक्टर ठानेर सामाजिक सञ्जालमा स्वास्थ्य सम्बन्धी सुझाव माग्ने गरेको सुनाए। पुनले आफू वैज्ञानिक पनि नभएको बताए। अन्तक्र्रियामा पुनले आफू अमेरिकाबाट फर्केर आएपछि समाजसेवामा लाग्दा विद्वान, वैज्ञानिक र डाक्टरको उपाधि पाएको सुनाए।
मलाई विज्ञानको क्षेत्रमा काम गर्ने भन्छन् । म त्यो वैज्ञानिक पनि हैन। किनभने वैज्ञानिकले जस्तो म एउटा ल्याबमा बसेर अनेक किसिमको अनुसन्धानहरू गर्दिनँ। मैले नेपालमा जन्मेका सिर्जनशील युवाहरूलाई प्रोत्साहन गरेर अनुसन्धान केन्द्रमा सहयोगमात्र गरेको हुँ,’ पुनले भने।
अमेरिकामा पढेर नेपाल फर्केपछि फेरि फर्केर अमेरिका जान मन नलागेको र यसपछि आफू समाजसेवामा जोडिएको पुनले बताए। आफू समाजसेवामा काम गर्दै जाँदा स्रोत र साधन नभएको अवस्थामा गाउँमा ‘वायरलेस इन्टरनेट जडान गर्न सफल भएपछि सबैले मूर्ख भन्न थालेको उनी सुनाउँछन्।
‘समाजमा काम गर्न पैसा चाहियो। त्यो मसँग थिएन। अमेरिकाबाट फर्केपछि म एकदमै लाटो थिएँ,’ उनले भने, ‘यस्तो अवस्थामा कि काम गर्न छोड्नुपर्यो कि काम गर्नुपर्यो। काम गर्न मैले आफैले आफैंलाई प्रोत्साहन दिएँ। तर, यसका लागि मूर्ख हुनु जरुरी देखेँ। कुनै स्रोत, साधनबिना पनि कसैले केही काम गर्न चाहन्छ भने त्यसलाई मूर्ख भने हुन्छ।’
राजधानी बाहेकका ठाउँमा फाइबर इन्टरनेट नपुगेको बेला पुनले गण्डकी प्रदेशको म्याग्दीमा वायरलेस इन्टरनेट पुर्याएर चर्चामा आएका थिए। यसपछि पुन लगातार अनुसन्धान गतिविधिमा जोडिए। पाँच वर्षअघि मात्र उनले आविष्कार केन्द्र खोलेका हुन्। अहिले आफ्नो अनुसन्धान केन्द्रले १०–११ वटा उपकरण विकास गर्न सफल भएको उनले जानकारी दिए।
‘त्यो कठिन समयमा म्याग्दीमा फाइबर इन्टरनेट पुर्याउने कुरा त सम्भव थिएन। त्यो बेला मैले मूर्खता देखाएँ। त्यो आँट गरेँ । त्योभन्दा अघि मलाई सबैले मूर्ख भन्थे। यसपछि मैले आफूले आफैलाई मूर्ख भन्न थालेँ,’ उनले भने, ‘कुनै काम गर्न तपाईसँग धेरै इच्छा छ तर धेरै ज्ञान पनि छैन, साधन स्रोत पनि छैन, तै पनि तपाईहरु त्यो काम गर्न चाहनुहुन्छ भने तपाईहरु पनि मूर्ख बन्नै पर्छ। मूर्ख नबनीकन कुनै काम हुँदैन।’
राष्ट्रिय आविष्कार केन्द्र खोल्नु पनि मूर्खता भएको पुनले सुनाए। ‘मैले अमेरिकामा बसेर यस्तो अनुसन्धान केन्द्र देखेको थिएँ। तर, देख्दैमा त भएन नि १ देख्दैमा पुग्दैन,’ उनले भने, ‘मैले सोचेँ, नेपालमा उत्पादन बढाउन र प्रतिभा उत्पादन गर्न आविष्कार केन्द्रहरू खोल्नुपर्छ र रोजगार बढाउनुपर्छ भन्ने लागेर त्यो आँट गरेँ। अहिले हामी केही आँटसम्म सफल भएका छौं।’
आविष्कार केन्द्र खोलेर आफूले केही हदसम्म भए पनि रोजगारी सिर्जना गरेको पुनको दाबी छ। उनले रोजगारी नपाएर बाध्यताले विदेश जान चाहनेलाई केही हदसम्म रोक्ने प्रयास गरेको सुनाए। ‘अनुसन्धान केन्द्र आफैले रोजगार दिने होइन। यसले अनुसन्धान गर्छ । केही उत्पादन, अनुसन्धान गर्छ र निचोडमा पुग्छ। यसपछि व्यवसायीहरूसँग मिलेर उद्योग खोलेर रोजगारी सिर्जना गर्ने हो,’ पुनले भने।
१० उपकरणको अनुसन्धान सफल
राष्ट्रिय आविष्कार केन्द्रबाट १० वटा उपकरणको अनुसन्धान सफल भएको पुनको दाबी छ। अनुसन्धान केन्द्रले सुरु गरेको एक चौथाइ उपकरणको अनुसन्धान सफल भएको उनले सुनाए।
उनले भने, ‘अनुसन्धान केन्द्रले अहिलेसम्म ९६ वटा नयाँ उपकरणहरुको अनुसन्धान गरेको थियो। ती सबै सफल भएनन्। ६० वटा बनाउन खोजियो, सफल भएन। ३०– ३५ वटा उपकरणमा अहिले १० वटामात्र सफल भएर बजारमा परीक्षण भइरहेको छ। बाँकी अनुसन्धानकै चरणमा छन्।’
कफी भुट्ने मेसिन, बेबी वार्मर, कोदो रोप्ने, धान काट्ने मेसिन, खेत रोप्ने मेसिन, कुखुरा, हाँसको अण्डाबाट चल्ला निकाल्ने मेसिन, खुवा बनाउने मेसिन र सातु बनाउने मेसिनको सफल परीक्षण भइसकेर बजारमा पुगेको पुनले जानकारी दिए।
आफूहरुले उत्पादन गरेको ‘बेबी वार्मर’ ४० वटा अस्पतालमा प्रयोग भइरहेको उनले सुनाए।
समुदायलाई फाइदा पुग्ने र आयात घट्ने उपकरणका लागि आफ्नो अनुसन्धान केन्द्रले काम गरेको पुन सुनाउँछन्। उनले दैनिक जीवनमा उपभोग गर्ने ९५ प्रतिशत सामान सबै बाहिरबाट ल्याउनुपर्ने अवस्थामा स्वदेशमै उत्पादनमा जोड दिनुपर्ने सुनाए।
‘यो इनोभेसन सेन्टरले सबै किसिमको प्रतिभा भएकालाई खोज, अनुसन्धान गर्न अवसर दिने ठाउँ हो। यहाँ हरेक किसिमका चेकजाँच गर्न सकिन्छ,’ उनले भने, ‘म त भन्छु– केही जानेको आँट भएको, केही गर्ने हुटहुटी बोकेकालाई यो इनोभेसनमा सधैं स्वागत छ।’
पुनले अनुसन्धान केन्द्रबाट उत्पादन भएका सामान विदेशी सामानभन्दा धेरै गुणा सस्तो भएको बताउँछन्। ‘कोभिडकै बेला बजारमा पीपीई ८ हजार रुपैयाँसम्ममा नेपालमा किनियो। बिस्तारै कम्पिटिसन हुँदा अन्तिममा २५ सय रुपैयाँसम्म पर्यो। त्यही चिज हामीले अनुसन्धान केन्द्रमा उत्पादन गर्यौं। खर्च कटाएर, नाफा निकालेर हामीले त्यही पीपीई ८ सय रूपैयाँमा बेच्यौं,’ उनले भने, ‘देशमा उत्पादन गर्दा कति फाइदा हुँदोरहेछ भन्नेबारे एउटा उदाहरण हेरे पुग्छ।’